समाज

ताप्लेजुङमा गरियाे सालकको उद्धार

ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ। सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार प्रहरी टोलीले सालकलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो। सालकलाई उचित हेरचाह र स्थानान्तरण सुनिश्चित गर्न ताप्लेजुङस्थित डिभिजन वन कार्यालयलाई घटनाबारे तुरुन्तै जानकारी गराइएको थियो।

आज बिहान उपडिभिजन वन कार्यालयका कर्मचारीलाई सालक हस्तान्तरण गरिएको लुङ्गेलीले बताए। वन कार्यालयका कर्मचारीले सालकलाई उपयुक्त बासस्थानमा सुरक्षित फिर्ता गर्ने जनाएको छ।

लोपोन्मुख मानिने सालकको अस्तित्व सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०८१ १३:३६ मंगलबार

#Taplejung #Salk's rescue #Police team #Endangered