समाज

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ। शुक्रवार रातिदेखि नै अविरल वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ। नदी छेउका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको छ।

ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ। साथै नदी छेउका सडकहरु डुबानमा परेका छन्।

मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ। वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ। यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन्। 

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको कुमालगाउँमा ३३८ मिलिमिटर मापन भएको छ। यो घनघोर वर्षा हो। 

विभागको तथ्यांक अनुसार पाल्पाको गण्डाकोटमा २५३, दाङको लमहीमा २४१, स्याङजामा २४०, दाङ घोराहीमा २३३, अर्घाखाँचीमा १९७ र दाङको लालमटियामा १९१ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै, पर्सामा १८२, बाँकेको कुसुमा र गोरखामा समान १७४, प्युठानमा १७१, पर्वतमा १५८, लमजुङमा १५१ र ललितपुरको लेलेमा १४० र सिन्धुलीमा १२९ मिलिमिटर वर्षा मापन भएको छ। 

जल तथा मौसम विज्ञान विभागले बिहीबार नै विशेष बुलेटिन जारी गरेर आइतबारसम्म देशभर वर्षा हुने र त्यसमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरै वर्षा हुने प्रक्षेपण गरेको थियो।

प्रकाशित: २२ असार २०८१ ११:०७ शनिबार

#rain #All-over-country