समाज

बाढीले काठेपुल पुल बगाउँदा बेंशिसहर-चामे सडक अवरुद्ध

फाइल तस्बिर

हिमाली जिल्ला मनाङमा भारी वर्षाले तिमाङ खोलामा आएको बाढीले काठेपुल बगाउँदा बेंशीशहर-चामे सडक अवरुद्ध बनेको छ।

मंगलबार परेको भारी वर्षासँगै आएको बाढीले बेंशिसहर चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका-१ तिमाङखोला र स्यार्कु खोलाको काठेपुल बगाएको हो।

पुल बगाउँदा लमजुङको बेंशिसहर र मनाङको चामे जोड्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विजय तिम्लिसेनाले जानकारी दिए।

उनका अनुसार पुल नै बगाएपछि यातायात पूर्ण रुपमा बन्द भएको छ। पुल बगाएपछि तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्। आवतजावतमा समस्या भइरहेको छ।

त्यस्तै तिमाङ क्षेत्रमा पर्ने तिमाङ झरनाले पक्की पुलमा क्षति पुर्‍याएको छ। पक्की पुलमा झरनामाथिबाट ढुङ्गा खसेर क्षति पुर्‍याएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असार २०८१ ०९:४९ बुधबार

#Kathepul #Beshishahr-Chame road