समाज

वर्षाको कामना गर्दै भक्तजनहरू शिव शरणमा

पानीको माग गर्दै तौलिहवा स्थित ताम्रेश्वर महादेवको मन्दिरमा गाईको दूध चढाएर पूजापाठ गर्दै थारु महिलाहरु। तस्बिर: किरणमान बज्राचार्य/नागरिक

जेठ सकेर असार लाग्दा समेत वर्षा नभए पछि कपिलवस्तुका कृषकहरू चिन्तित बनेका छन। नेपालका पूर्वका जिल्लाहरुमा मनसुन आए पनि जिल्लामा भने वर्षाको अझै छाट देखिएको छैन।

वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाएर चिन्तित बनेको यहाँका कषकहरु पानीको माग गर्दै तौलिहवा स्थित तालेश्वर महादेवको मन्दिरमा पूजापाठ गरी हर हर महादेव पानी देऊ भन्दै पुकार गर्ने गरेका छन। धान रोप्ने समयमा बीउ समेत छर्न नपाएर आत्तिएका कृषकहरू पानीको पुकार गर्दै सो मन्दिरमा पुगेका हुन।सो मन्दिरमा दिनहुँ जसो जिल्लाका बिभिन्न स्थानबाट हजार बढी भक्तजनहरू पानीको पुकार गर्दै आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार कसौधनले बताए। 

‘प्रायः जसो सोमबारका दिन भीड लाग्ने मन्दिरमा अहिले भने पानीको माग गर्दै दैनिक हजार बढी भक्तजनहरू आईरहेका छन्।’

जेठ बितिसक्दापनि पानी नपरे पछि विशेष गरेर जिल्लाको उत्तरी भेगमा पर्ने आधा दर्जन गाउँका थारु महिलाहरु मन्दिरमा आउने गरेका छन्। ट्याक्टर बस, साइकल मा चढेर कपासी, मोर्मी कोपवा, हथौसा, बुढ्ढी, गजेहडा, मार्मा बक्डरीया तिलौराकोट, निग्लिहवा लगायत गाविस महिलाहरु मन्दिरमा पूजापाठका लागि आउने गरेका छन्।

शिवको प्यारो महिना साउनमा भक्तजनहरूको लाग्ने भीड मन्दिरमा अहिले नै देखाएको छ। थारु महिलाहरूले विशेषतः मन्दिर भित्र रहेको शिवलिङमा गाईको दूध चढाएर पूजापाठ गर्ने गरेका छन्।

वर्षाको कामनाका लागि शनिवार गाउँका  सय बढी महिलाहरूसँग मन्दिरमा पुगेकी बुद्धुभमी नगरपालिका– १ कपासीकी सम्झना थारुले मन्दिरमा एक लिटर दूध चढाएर पूजापाठ गरेको बताईन।‘ जेठ बित्दा समेत पानी परेन, बीउ समेत छर्न पाइएन, त्यसैले शिवको शरणमा पुगेका हौ,’ उनले भनिन ‘शिवजीले हाम्रो कामना अवश्य सुन्नु हुन्छ, केही दिन मै वर्षा हुन्छ।

’यस्तै २० किलोमिटर यात्रा तय गएर शनिवार मन्दिर पुगेकी बाणगंगा नगरपालिका– ३ गंगोलीया गाँउकी मुरिया थारुले आफूहरूको पुकार सुनेर भगवान शंकर पानी पार्ने बिश्वास व्यक्त गरिन।‘

पानी नपर्दा यसरी नै पुस्तौँ देखि शिवको शरणमा पूजापाठ गर्ने परम्परा रहेका बताउँदै उनले अबको एक हप्ता भित्रै शिवले वर्षा गराएर आफूरुको कामना पुरा गर्ने 

केही दिन यता आकाशमा कालो बादल देखिएर पानी पर्ला जस्तो भए पनि वर्षा भने हुन सकेको छैन । जसले गर्दा मुठी छरेर मानो फलाउने आस लिएर बसेका कृषकहरु चिन्तित बनेका छन् । जिल्लाको कुल खेती योग्य जमिन मध्ये ७२ हजार हेक्टरमा धान खेती गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रे जनाएको छ । लामो सयमको खडेरीले नदीनाला, पाखेरी, कुलो ,नहरमा पानी सुकेकोले समेत कृषकहरु थप मर्कामा परेका छन् । गत वर्ष जेठ अन्तिमबाट रोपाई सुरु भएको थियो तर यस वर्ष कृषकहरुले छिटपुट बाहेक बीउ समेत छर्न पाएका छन् । उता जिल्लाको बिभिन्न स्थानमा रहेका शिवमन्दिरहरुमा पानीको माग गर्दै अखण्ड किर्तन समेत सुरु गरिएको छ । गाँउ गाउँमा भक्तजनहरू जम्मा भई पानीको माग गदै भजन, किर्तन, पूजापाठ गर्ने गरेका छन् । पूजापाठ, किर्तनले समेत पानी नपरे जिल्लामा भ्यागुताको विवाह गराउने, महिलालाई हलो जोत्न लगाउने चलन छ । 

प्रकाशित: १ असार २०८१ १४:२९ शनिबार

#Kapilvastu farmers worried #Tamreshwar Mahadev #prayer #Tharu women