समाज

‘एसइई केन्द्र’मा अधिकृत साह नेतृत्वको अनधिकृत टोली, केन्द्राध्यक्ष र विद्यार्थीहरू त्रसित

जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोलीले एसइई परीक्षा केन्द्रमा परीक्षा निर्देशिका विपरीतका गतिविधि गरेको पाइएको छ।

अधिकृत साहको टोलीमा खटिएका कर्मचारीहरूले परीक्षा केन्द्रमा अनुगमनका नाममा परीक्षा हल भित्र प्रवेश गरेर एसइई परीक्षा निर्देशिका विपरीत काम गरिरहेको छ।जिल्ला प्रशासन कार्यालयले बनाएको पाँच ओटा अनुगमन टोलीमध्ये अधिकृत साहको नेतृत्वमा रहेको टोलीमा चालक तथा कम्प्युटर अपरेटर, नायब सुब्बा र सुरक्षाकर्मी समेत छन्। 

उनको नेतृत्वको टोलीले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकलाई अपमानित गर्न थालेपछि एसइई परीक्षा सञ्चालन हुने वातावरण नै बिथोलिने सम्भावना बढेर गएको छ।

साहको टोलीमा जिल्ला प्रशासन कार्यालय रौतहटका कम्प्युटर अपरेटर विनय कर्ण, गौर कारागारमा करारका सहायक कम्प्युटर अपरेटर अंशु सिंह, कोष तथा लेखा नियन्त्रण कार्यालयका चालक महेन्द्र पटेलसहित परिचयपत्र नभएका र सरकारी कार्यालयको औपचारिक पोसाकमा समेत नलगाएका अपरिचित मानिसको सहभागी छन्। टोलीले नियम र निर्देशिका विपरीत केही परीक्षा केन्द्रमा नियोजित आँतक मच्चाएको गुनासो केन्द्राध्यक्षहरूले गरेका छन्।

करार कर्मचारी अंशु सिंह र चालक पटेलले प्रशासकीय अधिकृत साहको निर्देशनमा परीक्षा कोठामा प्रवेश गरी छात्राहरूलाई जथाभाबी चेक जाँच गर्दा कतिपय छात्राहरू अपमानित महसुस गरेका छन्। साहको टोलीमा रहेका शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रौतहटका नायब सुब्बा राजेश यादवले परीक्षार्थीहरूको जीउ छाम्दै मोबाइल बरामद नहुँदा किन मोबाइल नल्याएको भन्दै हप्काउने गरेका छन् मोबाइल बरामद हुँदा कक्षा कोठाका निरीक्षकलाई हप्काउने गरेका छन्। 

फौजी तरिकाले हप्काउँदै यादवले परीक्षार्थीको जीउ छाम्न थालेपछि कतिपय विद्यार्थी डरले कामेका थिए। केन्द्राध्यक्षलाई जानकारी नै नगराईकन परिचयपत्र नभएका मानिसलाई परीक्षा कोठामा जथाभाबी प्रवेश गरी परीक्षाको नीति र केन्द्राध्यक्षलाई अपमानित गर्ने काम गरेकामा धेरै केन्द्राध्यक्ष क्षुब्ध देखिएका छन्।

दलबलसहित धेरै संख्यामा र प्रहरीको टोलीसहित केन्द्रमा साह पुग्दा केन्द्रका खटिएका सबै कर्मचारी थर्कमान हुने गरेका छन्।केन्द्राध्यक्षको अनुमति बिना बाहिरका कोही पनि परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने परीक्षा निर्देशिकामा उल्लेख छ तर साहसित टोलीमा अनुगमनमा आउने कर्मचारीहरूले पनि सोझै परीक्षा कोठामा प्रवेश गर्ने गरेको पाइएको छ। साहको टोलीका कर्मचारीले प्रदर्शन गर्ने हाउभाउ तथा निरीक्षक सित गर्ने व्यवहारका कारण कतिपय शिक्षक परीक्षा केन्द्रमा निरीक्षक बन्न नचाहेको गुनासो पनि केन्द्राध्यक्षहरूले गरेका छन्। 

साहको नियत नै खराब भएको र परीक्षाको वातावरण साहले बिथोल्न खोजेको केन्द्राध्यक्षहरूको भनाइ छ। तर अधिकृत साहले भने आफूले कानुनले दिएको अधिकार र नियम बमोजिम नै अनुगमन गरेको दाबी गरेका छन्। अनुगमन समितिले चालक तथा कम्प्युटर अपरेटरलाई अनुगमनको अधिकार नै दिएकोले दाबी गर्दै साहले निर्देशिका उल्लङ्घन गर्ने काम नगरेको प्रतिक्रिया दिए।

 कोलोनिका रौतहटका निमित्त प्रमुख सन्तोष कुशवाहाले पनि कार्यालयका चालक महेन्द्र पटेलको बचाउ गर्दै अनुगमनमा गएको टोली प्रमुखले बोलाए पछि मात्र कक्षा कोठामा प्रवेश गरेको हुनुपर्ने बताएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले चैत १६ गते विज्ञप्ति जारी गर्दै अनुगमनको नाममा अनुगमनका लागि खटिनुपर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारण परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भन्दै प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समिति समेतका आधिकारिक पदाधिकारीहरूबाहेक अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमति पत्र रद्द गरिएको जनाएको थियो।

यसैगरी परीक्षा निर्देशिकाले शिक्षा विकास निर्देशनालय, जिल्ला परीक्षा समन्वय समिति तथा शिक्षा विकास तथा समन्वय इकाई बाट खटिएका कर्मचारीलाई आफ्नो अनुमति पत्र र परिचयपत्र देखाएपछि परीक्षा कक्षमा प्रवेश गर्न र निरीक्षण गर्न केन्द्राध्यक्षले दिने व्यवस्था रहेको छ। 

साहको टोलीमा खटिएकाहरूसित परिचयपत्र नै नहुने गरेको गुनासो रहेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अनुगमनको नाममा जथाभाबी प्रवेश गर्न नहुने प्रतिक्रिया मात्र दिए।

प्रकाशित: २१ चैत्र २०८० १३:५३ बुधबार

आतंक एसइई परीक्षा केन्द्र जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोली