समाज

सेतीमा माछा मार्न जाँदा डुबेका दुईमध्ये एकको शव भेटियो

सेती नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ। आइतबार राती करिब १० बजेतिर पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका ५ जनामध्ये २ जना चिप्लिएर डुबेका थिए।

डुबेकामध्ये पोखरा–१ कसेरीका ४० वर्षिय मंगा तामाङको शव भेटिएको हो। सशस्त्र प्रहरीको कालिका गण कास्कीको गोताखोर टोली र विपद् उद्धार टिमले शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।

नदीमा डुबेका अर्का ४३ वर्षिय रक्सेस तामाङ भने अझै बेपत्ता छन्। उनको पनि सोमबार दिनभर खोजी गरिएपनि फेला पार्न नसकिएको डिएसपी श्रेष्ठले बताए। उनले भने, ‘नदीमा डुबेको जानकारी पाए लगत्तैदेखि बेपत्ताको खोजी शुरु गरेका थियौं। खोज्ने क्रममा मंगा तामाङको शव सेती नदीको ढुंगामा अल्झिएको अवस्थामा भेट्टायौं तर अर्का रक्सेसको भने खोजी जारी छ।’ मृतक मंगाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

माछा मार्न गएका पाँच जनामध्ये तीनजना भने सकुशल रहेको प्रहरीको भनाई छ। माछा मार्न भनेर गएका २८ वर्षिय कुमार तामाङ, ४१ वर्षिय समशेर तामाङ र ४७ वर्षिय रोहित कुँवर सकुशल रहेका हुन्। उनीहरुले नै बेपत्ता भएकाहरुको जानकारी दिएको र खोज्न पनि सघाएको डिएसपी श्रेष्ठले बताए। ‘हामी सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

प्रकाशित: १४ फाल्गुन २०८० १६:५८ सोमबार

खोलामा डुबेर मृत्यु