समाज

भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार

 


चितवन- भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ।

दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त चिकित्सा विभागलाई सुविधा सम्पन्न बनाइएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिए।

करिब रु ४० लाखको लागतमा चारवटा सुविधा सम्पन्न कुर्ची थपिएसँगै विभागमा बिरामीले सहजै उपचार पाउने भएका हुन् । दन्त उपचारको लागि सबै प्रविधि र सुविधा भएको कुर्ची राखिएको हो । यसअघि अस्पतालमा तीनवटा मात्र कुर्ची रहेका थिए ।

दाँत सफा गर्ने, दाँत भर्ने, शल्यक्रिया गर्ने, सबै प्रविधि एउटै कुर्चीमा रहेको छ । डेण्टल चियर राखेपछि कम समयमा धेरै बिरामीको उपचार गर्न सकिने दन्त चिकित्सा विभागकी प्रमुख डा सोनी सुवेदीले बताए । उनका अनुसार कुर्चीको प्रयोगले उपचारको सहजताको लागि चिकित्सकलाई पनि सजिलो हुनेछ।

यसअघि सामान्य कुर्चीबाट बिरामीको उपचार गरिँदै आइएको थियो । अस्पतालमा सात जना दन्त चिकित्सक रहेका छन् । दैनिक १०० जना बिरामी यो विभागले हेर्दै आएको छ । यो संख्या अब थपिने उनले बताए।रासस

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०५:५३ बुधबार

भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार