समाज

अनुदानमा आएको मल बाटोबाटै गायब

नेपाल सरकारले नरैनापुर गाउँपालिकाका किसानलाई बिक्री गर्न दिएको अनुदानको मल बाटोबाटै गायब भएको छ। नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट माघ–९ गते बुझिलिएको दुई सय बोरा (प्रति बोरा ५० केजी) नेपाल सरकारबाट अनुदान प्राप्त भएको थियो। उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै युरिया मल फेला परेको छ। ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेश भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको उनले बताए। अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल शिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मल बरेमा सात दिनभित्र स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ।

नेपाल सरकारद्वारा अनुदानित मल तोकिएको सहकारीमार्फत तोकिएको क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वको आकस्मिक अनुगमन गरिएको थियो।

प्रकाशित: १२ माघ २०८० ०१:२७ शुक्रबार

नेपाल सरकार नरैनापुर गाउँपालिका किसान अनुदानको मल बाटोबाटै गायब नरैनापुर दुई सय बोरा