समाज

चूडामणि दोस्रोपटक धरौटीमा छुटे

फाइल फोटो

काठमाडौं – राजस्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा ४५ लाख रुपियाँ धरौटी तिरी साधारण तारेखमा छुटेका छन् । विशेष अदालतले शर्मालाई चार करोड बराबरको स्रोत नखुलेको अकुत सम्पत्ति मुद्दामा ४५ लाख रुपियाँ धरौटीमा छुट्ने आदेश दिएको हो। 

विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीराज ढकालको इजलासले ४५ लाख धरौटी माग गर्ने आदेश गरेलगत्तै शर्मा आइतबारै बैंक ग्यारेन्टी बुझाएर साधारण तारेखमा छुटेका छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी परिवारका नाममा राखेको मुद्दामा विशेष अदालतमा थुनछेक बहस हुँदा शर्मा उपस्थित थिए।

धरौटी रकमबापत शर्माले नेपाल इन्भेस्टमेन्ट बैंकको ग्यारेन्टी बुझाएको विशेषका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १५ मा शर्माको कुल सम्पत्तिमध्ये चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै सोही बिगोसहित आरोपपत्र दर्ता गरेको थियो ।  
शर्मामाथि सार्वजनिक सेवामा रहँदा अकुत सम्पत्ति कमाई परिवारका नाममा लुकाएको अभियोगमा अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो।  

२०७३ मंसिर मसान्तसम्म परिवारका सदस्यका नाममा खरिद एवं लगानी गरेको चलअचल सम्पत्ति हेर्दा तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपियाँमात्र वैध सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।  वैध आयको तुलनामा चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ।

अख्तियारले शर्माविरुद्ध विशेष अदालतमा दर्ता गरेको यो दोस्रो मुद्दा हो । यसअघि कर फछ्र्योट आयोगका सदस्यसचिव रहँदा एक अर्ब राजस्व हिनामिना गरेको अभियोगपत्र दायर भएको थियो । राजस्व हिनामिना मुद्दामा शर्माले एक करोड धरौटी बुझाएर छुटेका थिए । उनी छुटेपछि अख्तियारले परिवारका नाममा सम्पत्ति लुकाएको भन्दै अर्को मुद्दा दर्ता गरेको थियो।

चलअचल सम्पत्ति, सेयर लगानीलगायतका शीर्षकमा कुल सात करोड ९३ लाख २७ हजार ८५ रुपियाँ खर्च गरेको देखिएको छ।

अख्तियारको आरोपपत्रमा शर्माको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको उल्लेख छ । शर्माको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर हैसियतभन्दा बढी देखिएको अख्तियारको दाबी थियो। 

शर्माले श्रीमती र छोराहरुका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात  देखिएको, विभिन्न कम्पनीका सेयर खरिद तथा लगानी गरेको, सवारीसाधन खरिद, घरजग्गालगायतका चलअचल सम्पत्ति खरिद देखिएको अख्तियारको दाबी छ । 
‘राष्ट्रसेवक भएपछि कुन स्रोतबाट सम्पत्ति आर्जन कमाएको भन्ने पुष्टि नभएकाले भ्रष्टाचार निवारण ऐन–२०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको छ,’ आरोपपत्रमा उल्लेख छ।

उनले अकुत सम्पत्ति कमाएर पत्नी कल्पना उप्रेती शर्माका नाममा राखेको तथा लुकाएको देखिएकाले कानुनअनुसार गैरकानुनी सम्पत्ति जफत गरी पत्नीलाई समेत प्रतिवादी कायम गरिएको छ। 

अख्तियारले कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माले आपसी मिलेमतोमा आयोगको क्षेत्राधिकार नाघेर कर मिनाहा गरेको भन्दै १० अर्ब दुई करोड १९ लाख एक हजार आठ सय ४२ रुपियाँ मागदाबीसहित विशेषमा गत साउन १ मा आरोपपत्र दर्ता गरेको थियो। 

प्रकाशित: २१ फाल्गुन २०७४ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App