समाज

२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन्। 

यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए। रानाले परियारलाई “रु २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं मागेका थिए। 

सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न केही कर पठाइदिन भनेपछि परियारले विश्वास गरी आइएमइमार्फत रु ३६ हजार रुपन्देहीका शैलेन्द्रकुमार बहराईलाई पठाइदिए । गत बिहीबार अपराह्न ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत आइएमइ गरेको एक घण्टापछि रु २५ लाख प्राप्त गर्नका लागि रु ७५ हजार पठाउन भनेपछि परियार दोधारमा परे । उनले दाजु रमेशलाई सो कुरा बताएपछि आफू ठगिएको थाहा पाए । उनका दाजुले पैसा नपठाउन आग्रह गरे। पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको रु ३६ हजार कसरी पाउन सकिन्छ भन्दै दुई भाइ रुपन्देही गए। 

इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्रकुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले बहराईलाई पक्राउ गरी रकम असुली गरेको छ। जाहेरी दिएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक विजय धवालले साधारण पोशाकमा प्रहरी पठाई ठगी गर्ने भनिएका बहराईलाई पक्राउ गरे। इलाका प्रहरी कार्यालयमा पक्रिएर ल्याइसकेपछि हिरासतमा राखेर ठगी गरेको रु ३६ हजार असुल भएको छ। 

प्रकाशित: १९ फाल्गुन २०७४ ०५:०५ शनिबार

२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ