समाज

ओई हात काँ!

तस्बिर: कृपा श्रेष्ठ, मोडल: दिनेश शाही/उरुषा पाण्डे

होलीको माहोल थियो । ठमेलको काठमाडौं गेस्ट हाउस नजिकै दुई जना विदेशी पर्यटक रमाइलो मान्दै रिक्सामा आइरहेका थिए । दुवैको शरीर होलीको रङले छपक्कै रंंगिएको थियो । केही पर पुगेपछि होली मनाउँदै हिँडेको एक समूह उनीहरु नजिकै आए । 

रङ छ्याप्दा त उनीहरु रमाएकै थिए । ह्याप्पी होली...भन्दै खुसी साटिरहेका थिए तर उनीहरुको खुसीको समय छोटियो ।

रङको साटो पानी छ्याप्न सुरु भयो । दुवै एक अर्कालाई जोगाउनतिर लागे । पछाडि बसेकी महिला केही डराइन् । अगाडि बसेकी युवती साथीलाई जोगाउन काखमा बसिन् । भिडमध्येका एक जनाको हात अगाडि बढिसकेको थियो । जब एक रौसिया पुरुषको हात महिलाको संवेदनशील अंग मुर्सान पुग्यो, उनी चिच्याइन्, ‘फ...क यू’ । महिलाको आक्रोशित मुहार देखेर समूह बिस्तारै पर–पर सर्यो । 

यो दृष्य २०६४ साल होलीको हो । प्रत्यक्षदर्शी थिए– फोटो पत्रकार विजय राई । 

‘पानीबाट क्यामरा जोगाउँदै ठमेल पुग्दा रमाइलै भइरहेको थियो तर रङ दल्ने बहानामा भएको दुव्र्यवहार देख्दा दिक्कै लाग्यो,’ त्यो दृश्य सम्झँदै उनले भने, ‘होली मनाउने भन्दा पनि त्यहाँ सिकार खोज्न हिँडेका ब्वाँसोजस्तो व्यवहार भयो । फोटो खिचिरहन सकिनँ ।’

राईले पर्वको बहानामा भएको त्यो दुव्र्यवहार देखेको १० वर्ष टेक्यो  यस २०७४ को होलीमा । यस बीचमा होली मनाउने शैली निक्कै फेरिइसक्यो । जबर्जस्ती लोला हान्ने, पानीले भिजाउने, रङ छ्याप्ने क्रम केही घटेका छन् । नघटेको पक्ष भने यही पर्वमा सल्बलाउने दुव्र्यवहार गर्ने हात नै हुन् ।

होली । नामै काफी छ यो रङहरुको पर्व हो । एकअर्कालाई रङ लगाउने, नयाँ–नयाँ साथी बनाउने, ह्याप्पी होली भन्दै पुरानो मनमुटाव हटाउने । वास्तवमै होली मित्रताको पर्व हो तर होली यतिमा मात्रै सीमित छैन ।

चोक–चोकमा उभिएर हेर्दा देखिने दृश्यले भन्छ, ‘होलीको बहानामा हुने दुव्र्यवहार भने उस्तै छ ।’ पर्व मनाउन उत्साहसाथ हिँडेकाहरु दुव्र्यवहारको सिकार हुँदा मुहारमा दलिएको सप्तरङ्गी चमक एकाएक फिक्का हुन्छ ।

‘हुन त यो रमाइलो चाड हो तर मान्छेहरुले गर्ने अमानवीय व्यवहार देख्दा होली कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ,’ होलीको दुःखद अनुभव सुनाउँदै लोकदोहोरी गायिका प्रीति आलेले भनिन्, ‘होलीमा जथाभावी छोएको, रङ दल्देको अनुभव धेरैपल्ट भोगेँ ।’

होलीबारे उनको तीतो अनुभव यत्तिमै सकिएन ।

‘हामी गायकगायिकालाई रङबाट टाढा रहनुपर्ने हुन्छ, यसले स्वरमा असर गर्छ तर यहाँ चिनेको होस् या नहोस् अनुहारतिर हेरेर ‘ह्याप्पी होली’ भन्दै अन्तै (संवेदनशील अंग) हात पुर्याउनेको कमी छैन । होलीमा केटी मान्छे केटाबाट बढी नै जोगिनुपर्छ । जोगिने सुरमा होली मनाउँदाको खुसी नै हराउँछ ।’

होलीबारे अभिनेत्री रजनी केसीको अनुभव पनि त्यत्ति सुखद छैन । शुक्रबारसँग उनले एक वर्षअघिको अनुभव साटिन् । घर (सामाखुसी)बाट होली मनाउने भनेर उनी बाहिर निस्कदै थिइन् । उनलाई लिन दिदीहरु गाडीमा आउँदै थिए । घरबाट चोकसम्म पैदल हिँड्डाहिँड्दै एक हुल केटाहरु होली खेलिरहेका थिए । त्यही समूहका एकजनाले उनलाई ताकेर लोला हान्यो । लोला उनको स्तनमै लाग्यो । उनलाई त्यस लोलाले असाध्यै दुखायो तर केही बोलिनन् । सरासर घर फर्किइन् । 

‘त्यो घटना म कहिल्यै बिर्सन सक्दिनँ,’ शुक्रबारसँग भावुक हुँदै उनले भनिन्, ‘त्यतिबेला एकदमै दुखेको थियो । घर पुगेरका हट वाटर ब्यागले एक घण्टाजति छाती सेक्नु प¥यो । त्यही घटना सम्झेर अहिले पनि म होली भन्नेबित्तिकै तर्सिहाल्छु ।’

 दुव्र्यवहारमा मौन

शुक्रबारले होलीमा हुने हिंसा अथवा दुव्र्यवहारलाई लिएर करिब ५० जनासँग कुराकानी गर्दा कमैले मात्र दुव्र्यवहार हुने कुरा स्वीकारे । अधिकांशले दुव्र्यवहार हुनु नराम्रो हो मात्र भने । तपार्इंले गर्नु भएको छ या दुव्र्यवहारमा पर्नुभएको छ भन्ने जिज्ञासामा अधिकांश तर्किए ।

नेपाल प्रहरीको तथ्यांकले पनि होलीका बेला गरिने दुव्र्यवहार निकै बढ्ने देखाउँछ । होलीमा चोक–चोकमा दुव्र्यवहार भएका दृश्य बग्रेल्ती देखिन्छ तर प्रहरीकोमा उजुरी भने आउँदैन ।

होलीमा प्रहरीसम्म आइपुग्ने उजुरी कस्ता रहेछन् त ? प्रहरी प्रधान कार्यालयबाट २०७३ को होलीका अपराधको तथ्यांक हेर्दा छक्कै परियो ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार २०७३ मा ७५ जिल्लामा होलीसँग जोडिएका जम्मा ५ वटा घटना मात्रै दर्ता छन् । ती पाँचै वटा झगडा सम्बन्धित छन् । केही दुर्घटनाका तथ्यांक प्रहरी रेकर्डमा छ । त्यसमा पनि होलीको भन्दा अन्य कारण नै बढी छ ।

‘होलीमा हुने अधिकांश घटना झगडासम्बन्धी देखिन्छ,’ न्यौपानेले शुक्रबारसँग भने, ‘केही दुर्घटनाबारे छन् तर ती सबै होलीसँग मात्र जोडिएका छैनन् ।’

होलीमा हुने दुव्र्यवहारबारे कुराकानी र प्रहरी तथ्यांक वास्तविक दृश्यभन्दा भिन्न रहेको यसैले देखाउँछ । दुव्र्यवहारबारे अझै पनि नेपाली समाज खुलेर बोल्न चाहँदैन । 

लोकप्रिय अभिनेत्री केकी अधिकारी समाजको यस्तो प्रवृत्तिदेखि दुःखी छन् । उनी आफैं पनि होलीमा हुने यौनिक हिंसाको शिकार भएकी छन् । उनले आफ्नो तीतो अनुभव साटिन् ।

‘तीन वर्ष अघिको होलीमा घरबाट स्कुटीमा बाहिर निस्केकी मात्रै थिएँ, केटाहरुले छातीमै लाग्नेगरी लोला हाने,’ शुक्रबारकर्मीसँग उनले भनिन्, ‘मेरालागि त्यो डरलाग्दो अनुभव थियो ।’ 

गायिका ज्योती मगर आफूलाई अहिलेसम्म दुव्र्यवहार गर्ने हिम्मत कसैले नगरेको तर अरु दुव्र्यवहारमा परेको थुप्रैपल्ट भोगेको बताउँछिन् । उनलाई लाग्छ– सामान्तः केटाहरु अरु समय केटीहरुलाई छुन पाउँदैनन्, त्यसैले होलीमा मौका छोप्छन् । 

शुक्रबारसँग उनले भनिन्, ‘स्कुल पढ्दाखेरी मलाई पनि नर्मल्ली टच गर्न खोजेका थिए, अहिले त कसैले हिम्मत गर्दैनन् । यहाँ बोल्न नसक्ने केटीहरु धेरै दुव्र्यवहारमा पर्छन् । केटाहरु घरबाट निस्कदै गरेका केटीलाई देख्यो कि ताकी ताकी बाँकी नछाड्ने मानसिकता बोक्छन् ।’

‘एक्लै हिँड्नै हुन्न, अट्याक गरिहाल्छन्’

मोडलिङमा संघर्षरत काठमाडौं, सामाखुसी बस्ने उरुषा पाण्डे होली भन्नासाथ तर्सिन्छन्, घरबाट बाहिर निस्कनै चाहदिनन् । 

किन त ? 

‘होली खुसी साट्ने पर्व हो तर यही दिन म दुःखी भएको छु,’ उनले होलीमा भोग्नुपरेको अनुभव सुनाउँदै भनिन्, ‘दुई वर्षअघि होलीमा विशेष कामले घरबाट बाहिर निस्किरहेकी थिएँ । त्यहीबेला एक हुल केटाहरुले चारैतिरबाट घेरेर लोला हाने । म त फेन्ट नै भएछु ।’

गायिका एन्जिला रेग्मीलाई पनि यस्तै लाग्छ, ‘होलीमा एक्लो हुनै हुँदैन, अट्याक गरिहाल्छन् ।’ 

उनलाई यस्तो त्यसै लागेको होइन, अनुभवले सिकाएको हो । ‘एक वर्षअघि होलीको कार्यक्रममा जान कोठाबाट निस्किएर ट्याक्सी कुरिरहेका बेला ३–४ जना केटाहरु आएर टमाटर हानेर रङ लगाए । सबैले रक्सी खाएका थिए । उनीहरुले फोहोर पानीको बोतल मेरो शरीरमा खन्याइदिए । गर्नसक्ने केही थिएन । म घर फर्किएँ र ड्रेस चेन्ज गरेँ ।’

मोडल सवनम चौधरी पनि होलीमा हुने दुव्र्यवहारको अनुभवबाट मुक्त छैनन् । उनलाई लाग्छ– सहमतिमा रङ लगाउने ठीकै हो तर केटीहरुको ‘प्राइभेट पार्ट’ ताकेर लोला हान्नु ठीक होइन । 

‘होली खुसीको पर्व हो तर कसैको जीउमा जबरजस्ती छोएर, जबरजस्ती दलेर, जबरजस्ती लोला हानेर मिल्ने खुसी कस्तो खुसी र कस्तो आनन्द हो ?’ उनले प्रश्न गरिन् ।

प्रकाशित: १७ फाल्गुन २०७४ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App