समाज

बुढेसकालको सहारा ‘सडक’

सडक छेउमा जुत्ताचप्पल सिलाउँदै बलजित बिक । तस्वीर : नागरिक

रुकुम – ‘नगरी काम पुग्दैन खान साँझ र विहान’ यो गीत त्यसै सबैको रोजाइमा परेको होइन्। लाखौं निमुखा र विपन्नहरुको कथा, ब्याथा बोकेको छ यस गीतले, त्यसैले त सबैको मन मुटुमा बस्न सफल छ। रुकुम (पुर्व) को सिस्ने गाउँपालिका वडा नं. ६ का उमेरले ६२ नाघेका बलजित विकको जीवनको कथा पनि यसै गीतको भावसँग मिल्दो छ।  


बुढो शरिर, चाउरी परेको अनुहार, फुलेका कपाल आराम गर्नु उमेरमा जिल्ला प्रशासन अगाडी जुत्ता चप्पल सिलाइरहेका भेटिन्छन विक।। आर्थिक अवस्था कमजोर भएकै कारण उनको दैनिकी जुत्ता चप्पल सिलाएकै भरमा चल्ने गरेको छ। ‘जुत्ता चप्पल सिलाएको दिन मात्र चुलोमा आगो बल्छ’ विकले भने, ‘विश्राम गर्नु पर्ने उमेरमा पेल पाल्नकै लागि यस्तो काम गर्न बाध्य छु।’ 

‘उमेरले नेटो काट्यो। ढुंगा, गारोको काम गर्न सक्दैन्’ उनले भने, ‘काम गर्दै अब जादा यही काम सजिलो लाग्न थालेको छ।’ काम गर्दागर्दै कतिबेला निकै गाह्रो हुने, हात बौडिने भएपनि घरमा भएकी श्रीमतीलाई सम्झेर दुःख भुल्दै काम गर्ने गरेको उनी बताउँछन्। ‘बुढेसकालको साहारा यही सडक बनेको छ’ उनले भने, ‘सडकमा दिनभरी काम गर्यो जीविकोपार्जन गर्यो।’ 

मलाई यो उमेरमा काम गरिरहेको देख्दा जो सुकै पनि दुःखी हुने गरेका छन्, उनले भने । उनीसँग केही जमिन पनि छ तर, कमाउने मान्छे छैन । भएको एक छोराले पनि आफुहरुको कुनै वास्ता नगर्ने भएकाले विक झन दुःखी बनेका छन्। दैनिक दुई सय ५० कमाउने गरेको बताउँदै उनले यसैबाट आफ्नो र बुढीको सम्पूर्ण खर्च चलाउने गरेको उनले बताए। 

प्रकाशित: ८ फाल्गुन २०७४ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App