समाज

बेलकामा प्याराग्लाईडिङ परीक्षण उडान

उदयपुर – उदयपुरको पूर्वी भेग बेलका नगरपालिकामा शनिबार प्याराग्लाईडिङको औपचारिक परीक्षण उडान भएको छ। बेलका नगरपालिकाको आग्रहमा राष्ट्रिय खेलकुद परिषदले पठाएको ‘नेपाल प्याराग्लाईडिङ एण्ड ह्याण्ड ग्लाईडिङ संघ’ को टोलीले बेलका नगरपालिका ९ बोप्ताङ मैनामैनीबाट सफल परीक्षण उडान गरेको हो। 

संघका सचिव विकास आचार्यको नेतृत्वमा आएको प्रशिक्षकसहितको टोलीले समुद्री सतहदेखि ५ सय १० मिटर उचाईको बोप्ताङबाट ८ उडान गरेको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए। उनका अनुसार बोप्ताङबाट उडान सुरु गरेका प्याराग्लाईडिङ खेलाडीहरु बेलका नगरपालिका ५ को सोमबारे (चतारा पुलछेउ) मा अवतरण गरेका थिए। सोमबारे सुनसरी र उदयपुरको सीमास्थल सुनकोसी करिडोरमा पर्छ। 

मेयर थापाका अनुसार साविक मैनामैनी गाविस ९ को बोप्ताङ प्याराग्लाईडिङ पर्यटनको अत्यन्त सम्भावना बोकेको ठाउँ भएको स्थानीयले बताएपछि नगरपालिकाले त्यहाँ व्यवसायिक रुपमा प्याराग्लाईडिङ उडान सुरु गर्ने योजना बनाएको छ। सो योजना अनुसार नगरस्तरीय खेलकुद समिति गठन गरी स्थानीय बिपिन मगरलाई प्याराग्लाईडिङको व्यवस्थापन गर्ने जिम्मा दिएको छ। शनिबारको उडान परीक्षणका लागि प्याराग्लाईडिङ संघका सचिव आचार्यले विज्ञ टोली लिएर परीक्षण गराएको मगरले बताए। आचार्यले सबै परीक्षण सफल भएको उनलाई उद्धृत गर्दै मगरले बताए। 

प्रकाशित: ५ फाल्गुन २०७४ १५:५२ शनिबार

बेलकामा प्याराग्लाईडिङ परीक्षण उडान