समाज

ठगी मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं – गत माघ १५ गते पक्राउ परेका अस्पताल सञ्चालक र विदेशी डाक्टरमाथि ठगी मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ।

नेपाल मेडिकल काउन्सिलको सहकार्यमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि सरकारी वकिलको कार्यालयलाई जिम्मा लगाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिए । ‘प्रहरीले आफ्नो काम सकेर मुद्दा दर्ताका लागि सरकारी वकिलको जिम्मा लगाएको छ,’ कार्कीले भने । सिआइबीले पक्राउ परेका १७ जनामाथि अदालतबाट म्याद थपाएर अनुसन्धान गरिरहेको थियो। 

पक्राउ परेकाविरुद्ध नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिएको भन्दै ठगी मुद्दा चलाइएको र विदेशी डाक्टरको हकमा आप्रवासन कानुन पनि आकर्षित हुने सिआइबीले जनाएको छ।

सिआइबी स्रोतका अनुसार अनुमति नलिई सञ्चालित लैनचौरस्थित सिविक हस्पिटल तथा ठमेलको अपोलो इन्टरनेसनल पोलिक्लिनिकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ ।  चाइना ग्रेटवाल हेल्थ सेन्टर बौद्ध, चाइना पिपल्स हस्पिटल बौद्ध र चाइनिज डेन्टल हस्पिटल बौद्धविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको छ।

सिआइबीले चाइना गे्रटवाल, चाइन पिपल्स र चाइना डेन्टलको अनुसन्धान फाइल माघ २५ र २६ गते सरकारी वकिललाई बुझाएको थियो भने अपोलो र सिविकको अनुसन्धान फाइल माघ २८ र २९ गते बुझाएको स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाविरुद्ध नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिएको भन्दै ठगी मुद्दा चलाइएको र विदेशी डाक्टरको हकमा आप्रवासन कानुन पनि आकर्षित हुने सिआइबीले जनाएको छ।

काठमाडौंका विभिन्न अस्पतालमा अनुमति नै नलिई विदेशी डाक्टरले सेवा दिइरहेको भन्ने उजुरी सिआइबीमा परेपछि उनीहरु पक्राउ परेका हुन् । उपभोक्ता हित संरक्षण मञ्चको समेत सहयोग तथा काउन्सिलको सहकार्यमा सिआइबीले विभिन्न अस्पतालमा छापा मारेको थियो ।  नेपालमा विदेशी डाक्टरले काउन्सिलबाट अनुमति लिएर मात्र काम गर्न पाउँछन् । पक्राउ पर्नेमा अपोलो इन्टरनेसनल पोलिक्लिनिक ठमेलकी सञ्चालक मीनाकुमारी श्रेष्ठ तथा उक्त अस्पतालमा कार्यरत हुवाङ सावेन, पान माइ सङ, जेङ सुह्वा, लुव लिमिङलगायत आठ चिनियाँ डाक्टर छन्।

त्यस्तै सिविक अस्पताल लैनचौरकी सञ्चालक प्रतिभा पाण्डेसहित एकजना अस्ट्रेलियन डाक्टर पक्राउ परेका छन् । चाइना ग्रेटवाल हेल्थ सेन्टर बौद्धका सञ्चालक नारायण तिमिल्सिनासहित त्यहाँ कार्यरत दुई चिनियाँ डाक्टर पनि पक्राउ परेका छन्। 

चाइना पिपल्स अस्पताल बौद्धबाट दुई चिनियाँ डाक्टर तथा चाइनिज डेन्टल अस्पताल बौद्धबाट एक चिनियाँ डाक्टर पक्राउ परेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७४ ०३:२१ शुक्रबार

ठगी मुद्दा चलाउन प्रहरीको सिफारिस