समाज

अघोषित लोडसेडिङ्को मारमा गुल्मी

गुल्मी – गुल्मीलाई लोडसेडिङ्ग मुक्त भनिएको भएपनि अघोषित रूपमा जिल्ला वासी लोडसेडीङ्को मार खेपी रहेका छन्। जिल्लामा बिहान र साँझको समयमा विद्युत कटौती हुने गरेका कारण जिल्ला बासी मार खेप्न बाध्य भएका हुन्। 

दिउँसो समेत अनियमित रूपमा बिद्युत कटौती हुँदा उद्योग, कलकारखानादेखि सरकारी कार्यालय र सञ्चार माध्यमहरू मारमा परेको स्थानीयले बताएका छन्। 

गाउँमा एक हप्तासम्म बिद्युत अवरुद्ध हुँदा समेत नेपाल बिद्युत प्राधिकरण मौन बस्ने गरेको मालिका गाउँपालिका ५ छापहिलेका देविराम गिरीको गुनासो छ। ‘नाम मात्रको लोसेडिङ मुक्त जिल्ला भयो’, गिरीले भने, ‘विद्युत जाँदा कसलाई फोन गर्ने? त्यसको पनि केही टुङ्गो छैन।’ प्राधिकरणमा फोन गर्दा सिस्टम गएको रेडिमेट जवाफ आउने गिरीको गुनासो छ। 

सदरमुकाममा एक मिनेट लाइन जाँदा पनि सरोकारवालाले चासो दिने गरेकोमा गाउँमा एक सातासम्म अन्धकार हुदा समेत कसैले चासो नदिनु दुखद् भएको उनले गुनासो गरे। यो नौलो समस्या नभएकाले यसको दिर्घकालिन समाधान खोजिनुपर्ने उनले बताए। 

कार्यालयको पटक पटक ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई हुने नगरेको मनवअधिकार कर्मि गणेश श्रेष्टको गुनासो छ। हप्तामा एक दिन राम्रोसंग बिद्युत आए पनि ६ दिन अध्याँरोमा बस्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका ४ दोहली स्वास्थ्य चौकीका प्रमुख रमेश मरासिनीले बताए। 

जिल्लाका ग्यारेज, लिफ्टिङ्ग खानेपानी, वेकरीज, डेरी र होटल व्यावसायीहरू मर्कामा परिरहेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले बताए। 

कालीगण्डकी ए प्रभावित जिल्ला भएका कारण गत छ वर्षअघिदेखि गुल्मीलाई लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गरिएको छ। प्राधिकरणका इन्जिीनियर मेखराज जोशीका अनुसार जिल्लाको रिडीमा २.४ मेगावाट र ५ मेगावाटको हुग्दी हाइड्रो पावर रहेका छन्। तर, रिडी हाइड्रो पावरले १.२ मेगावाट मात्र बिद्युत उत्पादन गरिरहेको जोशीले बताए। 

आफ्नै घरगाउँ अन्धकार हुँदा समेत जनप्रतिनिधि मौन बस्ने गरेको इस्मा गाउँपालिका ४ का केशव जिसीले गुनो गरे। समस्या समाधानका लागि गाउँपालिकामा कुनै इकाइ समेत नभएको जिसीको गुनासो छ।

प्रकाशित: २५ माघ २०७४ १३:२६ बिहीबार

अघोषित लोडसेडिङ्को मारमा गुल्मी