समाज

हत्याराकाे पहिचान नभएको भन्दै दलित नेतृ आक्रोशित

खोटाङ– खोटाङमा दुई दलित महिलाको हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको भन्दै दलित नेतृहरुले आक्रोश पोखेका छन् । २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पहिचान हुन नसकेको भन्दै जिल्लाका दलित नेतृहरुले प्रशासन र प्रहरीको आलोचना गरेका छन्। 

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले सोमबार दिक्तेलमा आयोजना गरेको खोटाङ जिल्लामा दलित समुदायको अवस्था र जातीय भेदभाव बिरुद्धको अधिकार संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी दलित नेतृ रश्मी रसाईलीले दुई दलित महिलाको हत्या भएको लामो समय बित्दा समेत प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टी पोखेकी छिन्। ‘हामीले ज्ञानीमायाँ र देवीको हत्यारा पत्ता लगाउन मानव अधिकार आयोगलाई गुहार्‍यौँ, प्रशासनको ढोका ढकढकायौँ,’ रसाईलीले भनिन्, ‘तर, प्रहरीले खै दोषी पत्ता लगाएको ? खोई हामीलाई हाम्रो प्रश्नको जवाफ !’ जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको दलित नेतृहरुको भनाई छ। 

देवी माइती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्क विहीन बनेको दोश्रो दिन साउन ५ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगग बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको छ । यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेवस्थानभन्दा करिव पैदल पाँच मिनेटको दूरीमा हत्या भएको थियो । हलेसी मन्दिरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमा उनको खुकुरी प्रहार गरेर हत्या भएको थियो । तर, हालसम्म प्रहरीले ‘दुबै घटनामा कसको संलग्नता थियो, घटनाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन सकेको छैन् । घट्नाका विषयमा अनुसन्धान जारी राखेको बताए पनि दोषी पत्ता नलाग्दा पीडित परिवार निरास बनेको नेतृ रसाइलीले बताइन्। 

२०७४ साल साउन २९ गते देवी बिकको हत्यमा संलग्न दोषी पत्ता लगाउन माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय चिसापानीमा धर्ना दिएका थिए । यस्तै, महिलाको हत्यामा संलग्न दोषीको पत्ता लगाउनमा ढिलाइ भइरहेको भन्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको नेतृत्वमा साउन १३ गते जिल्ला प्रशासन कार्यालय गएको जन्तेढुंगा, खोटेहाङ र बराहपोखरी गाउँपालिकाका प्रमुख÷उपप्रमुखको टोलीले तत्काल दोषी पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी र तत्कालिन डिएसपी प्रधानको ध्यानाकर्षण गराएको थियो । साउन १२ गते आयोजित खोटाङको प्रथम जिल्लासभामा समेत जनप्रतिनिधिले महिलाको हत्यामा संलग्नको पत्तो नलागेको भन्दै प्रशासन र प्रहरीप्रति असन्तुष्टी जनाएका थिए । 

देवीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै अखिल नेपाल महिला संघ नेतृत्वको स्थानीयले साउन ९ गते जन्तेढुंगा गाउँपालिका र ईलाका प्रहरी कार्यालय चिसापानीमा दवाव जुलुस सहित ज्ञापनपत्र बुझाएका थिए । यस्तै, एमाले जन्तेढुंगा गाउँपालिका संगठन समितिले साउन ७ गते विज्ञाप्ती निकालेर देवीको हत्यामा संलग्न दोषी पत्ता लगाउत र कारबाहीका लागि प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएको थियो। 

२०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङको यथार्थ समेत बाहिर आउन सकेको छैन । 

प्रकाशित: २३ माघ २०७४ ०६:४४ मंगलबार

हत्याराकाे पहिचान नभएको भन्दै दलित नेतृ आक्रोशित