समाज

गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर र रत्नबहादुर चोरी आरोपमा पक्राउ

काठमाडौँ- भक्तपुर सुर्यबिनायक नगरपालिका–८ मा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। गणेश चोक डेरा गरी बस्ने राम बहादुर तामाङको कोठाबाट माघ १० गते पेस्तोल खुकुरी देखाई लुटपाट गर्ने मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।  

पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका ४० बर्षीय भोजबहादुर थापा मगर, सिन्धुलीको मरिन गाउँपालिका–८ बस्ने ४० बर्षीय मिलन भन्ने रत्नबहादुर तामाङ, काभ्रेको धुलिखेल नगरपालिका–१ बस्ने २६ बर्षीय बिष्णु भन्ने अमृत तामाङ्ग र धुलिखेल नगरपालिका–१० बस्ने २७ बर्षीय सानुकान्छा व्लोन रहेको प्रहरीले जनाएको छ।  पक्राउ परेका भोज बहादुर थापा मगर र मिलन भन्ने रत्नबहादुर तामाङ यस भन्दा अगाडी पनि बिभिन्न डाँका तथा चोरी मुद्दामा संलग्न रहँदै आएकोमा २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा जेलबाट छुटेका थिए।

उनीहरुले तामाङको परिवारलाई हात खुट्टा डोरीले बाँधी नियन्त्रणमा लिएर कोठामा भएको नगद तथा सुनका बिभिन्न गरगहना मोवाईल समेत गरी करीव १६ लाख ७ हजार ९ सय रुपैयाँ बराबरको धनमाल डाँका गरी लगेका थिए।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई डाँका गरी लगेको बिभिन्न धनमाल सहित उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका चोरी मुद्दामा आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ। घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका उनीहरुबाट पगालेको सुनको ढिक्का साढे ६ तोला , मोवाइल १ थान, बा.८३ प ३७७३ नम्वरको मोटरसाइकल १ थान, ज्याकेट समेत बारमद गरेको छ।

प्रकाशित: १७ माघ २०७४ १२:५४ बुधबार

गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर रत्नबहादुर चोरी आरोपमा पक्राउ