समाज

नेपाल जाइका अलमनाईलाई जापानको पुरस्कार

जापानी परराष्ट्र मन्त्रालयले सन् २०२३ मा दिइने विदेशमन्त्री प्रशंसा पुरस्कारबाट जापानमा अध्ययन र तालिम गरेर फर्केका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त अधिकारीहरू, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ र स्वतन्त्र प्राविधिक र व्यवसायीहरूको संस्था नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) सम्मानित भएको छ।

जापानी परराष्ट्र मन्त्रालयले दिएको फरेन मिनिस्टर कमेन्डेसन पुरकार नेपालस्थित जापानी राजदूत युताका किकुताले शुक्रबार जान अध्यक्ष डा. रामचन्द्र भुसाललाई एक समारोहबीच हस्तान्तर गरे। हस्तान्तरण समारोहमा उच्च पदस्थ अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो।

नेपाल र जापानबीच मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन लामो समयदेखि निरन्तर उल्लेखनीय योगदान गरेका कारण यो पुरस्कार प्रदान गरिएको राजदूत किकुतानले बताए। उनले जानका सदस्यहरू नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको नेतृत्वदायी भूमिकामा रहेकाले दुई देशको विकास र मैत्रीपूर्ण सम्बन्धलाई भविष्यमा अझ बलियो बनाउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।

जान अध्यक्ष भुसालले नेपाल–जापान मैत्री सम्बन्ध कायम गर्न, जापानी प्रविधि नेपाल भित्र्याउन र दुई देशका जनताको सुख दुःखमा समेत मैत्री पुलको रुपमा लामो समयदेखि खेल्दै आएको भूमिका र योगदानको कदर पुरस्कारबाट भएको बताए। पुरस्कारले आफू र जानका सदस्यहरूलाई आगामी दिनमा राष्ट्र निर्माण र दुई देशबिच मैत्री बलियो बनाउने कार्यमा अझ सक्रिय भई लाग्न प्रोत्साहन मिलेको उल्लेख गरे।

सन् १९७३ मा स्थापित जानले यसपालि स्वर्ण वर्षका रुपमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

प्रकाशित: ६ पुस २०८० १२:१६ शुक्रबार

जापानी परराष्ट्र मन्त्रालय