समाज

रसुवामा हिमपात, जनजीवन कष्टकर

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–३ गत्लाङमा हिमपात भएपछिको अवस्था । तस्बिर : हिमनाथ देवकोटा

रसुवा– रसुवामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न वडामा हिमपात भएको हो।

जिल्लाको लाङटाङ, थुमन, बृद्धिम, गत्लाङ लगायतको स्थानमा वर्षासँगै हिमपात भएको छ । चिसोको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ।

पार्वतीकुण्ड गाउँपालिका–३ का नबिन लामाका अनुसार हिमपातको कारण गत्लाङको जनजीवन प्रभावित भएको छ । उनले भने, ‘गाउँमा चिसोको कारण बालबालिका, महिला र वृद्धवृद्धालाई जोगाउन मुस्किल भएको छ।’

चिसोका कारण नागरिक बाहिर निस्कन सकेका छैनन् । चिसोबाट बच्नका लागि दाउरा तथा हिटरको प्रयोग गरिरहेका छन् । अघिल्लो वर्षहरूमा पुसको पहिलो साताबाट हिउँ पर्न सुरु हुने भएपनि यो वर्ष ढिलोगरी हिमपात भएको हो।

चिसोका कारण टहरामा बसिहेका भूकम्प पीडित समस्यामा परेका छन् । ३२ महिनाअघि गएको भूकम्पले घर भत्किएर अहिलेसम्म घर निर्माण नथालेका, निर्माण सम्पन्न नभएका र गाउँबाट विस्तापित भएर जिल्लाको विभिन्न स्थानमा बसिरहेकाहरू चिसोको मारमा परेका छन्।

चिसोले बालबच्चा जोगाउन समस्या भएको हाकुबाट विस्तापित भएर धुन्चेमा बसिरहेका रामबहादुर तामाङले बताए । जिल्लाको तल्लो क्षेत्रमा पानी परेसँगै बालीनाली सप्रने भएपछि कृषक खुशी भएका छन् ।
 

प्रकाशित: १० माघ २०७४ ०३:२० बुधबार

रसुवामा हिमपात जनजीवन कष्टकर