समाज

अस्पतालमा प्रसूति गराए ५ हजार भत्ता पाइने

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिने भएको छ। गाउँपालिकाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएबापत थप प्रोत्साहन भत्ता स्वरुप पाँच हजार रुपैयाँ दिने निर्णय गरेको हो।

गाउँपालिकाको प्रथम गाउँसभाले गरेको निर्णय शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। गाउँपालिका ३ पञ्चनमा एक औपचारिक कार्यक्रम गरी भत्ता सेवा सुरु गरिएको छ। थुलुङ दुधकोशीमा ४ वटा बर्थिङ सेन्टर छन्। बर्थिङ सेन्टरमा भन्दा अस्पतालमा रगतको समेत व्यवस्था गर्न सक्ने भएकाले बढी सुरक्षित मानिन्छ। यो सुविधा प्रदान गर्ने दुधकोशी जिल्लाको पहिलो गाउँपालिका हो। यस्तै वर्थिङ सेन्टरमा प्रसूति गराउनेले ३ हजार पाँच सय रुपैयाँ पाउने छन्।

गर्भवती आमा र नवजात शिशुको जीवन रक्षा गर्नु स्थानीय तहको पनि जिम्मेवारी रहने भन्दै यो सेवा सुरु गरिएको अध्यक्ष राईले बताए। ‘अझैपनि जनचेतना लगायत विविध कारणले घरमै प्रसूति गराउने चलन रहेकाले यसको अन्त्य गर्दै अस्पतालमा नै पु-याउने उद्देश्यका साथ यो कार्य सुरु गरेका हौं,’ उनले भने।

गाउँपालिकाकी उपाध्यक्ष सविता राई भन्छिन, ‘महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएको रिपोर्ट पेश गरेमा हरेक आमाले गाउँपालिकाको तर्फबाट प्रोत्साहन भत्ता पाउँनेछिन्, यो कार्यक्रम प्रभावकारी भएमा मातृ मृत्युदर कम हुनेमा हामी आशावादी छौँ।’   

साविकका ७ वटा गाविस मिलाएर बनाएको यस गाउँपालिकामा ९ वटा वडा रहेका छन् भने १९ हजार ६ सय ७२ जनसंख्या छ। भौगलिक विकटता रहेको गाउँपालिकाको वडा नम्बर ४, ५ र ९ मा सडक सञ्जाल जोडिएको भएपनि जीप सेवा सञ्चालन हुनसकेको छैन। यहाँका स्थानीयले खोटाङको ऐसेलुखर्क हुँदै ट्याक्टरमार्फत सामान ढुवानी गरेपनि सदरमुकाम सल्लेरी लगायत अन्य स्थानमा जानको लागि करिब ४ घण्टासम्मको पैदल हिड्नुपर्ने बाध्यता छ। आकस्मिक विरामी भएमा साविकका लोखीम र जुबुका स्थानीयले हेलिकोप्टरको प्रयोग गर्छन्। कतिपयले खर्च अभावकै कारण घरमै प्रसूति गराउने गरेको हुँदा अकालमै आमा र शिशुको ज्यान समेत जाने गरेको छ।   

ग्रामिण क्षेत्रमा सबैको आर्थिक अवस्था राम्रो नहुने भएकाले अस्पतालसम्म सुत्केरी गराउन लैजान नसकेकै कारण जोखिमपूर्ण अवस्थाबाट प्रसूति गराउने अवस्थाको अन्त्यका लागि प्रोत्साहन भत्ताले सजिलो हुने स्थानीयको भनाई छ।

प्रकाशित: ७ माघ २०७४ १२:४८ आइतबार

अस्पतालमा प्रसूति गराए भत्ता पाइने