समाज

जिल्ला अस्पताल पर्वतमा शल्यक्रिया सेवा ठप्प

फलेवास – दक्ष जनशक्तिको अभावमा जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प भएको छ। 

शल्यक्रियाका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको हो। सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतका बिरामीलाई शल्यक्रियाका लागि पोखरातर्फ रिफर गर्ने गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ। 

शल्यक्रिया गर्ने एनेस्थेसियोलोजिस्ट चिकित्सक एक महिनाअघि सरुवा भएर छिमेकी जिल्ला बागलुङ गएपछि सेवा ठप्प भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डा बुद्धिबहादुर थापाले बताए। 

शल्यक्रिया सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकले अन्यत्र सेवा सुविधा बढी पाएपछि गएको थापाको भनाइ छ। 

जिल्लाभरि नै एक मात्र शल्यक्रिया सेवा शुरु गरेको जिल्ला अस्पताल पर्वतमा जिल्लाका पाँच गाउँपालिका तथा दुई नगरपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गरेका छन्। अस्पतालमा दैनिकजसो एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। मासिक कम्तीमा पाँचदेखि सातजना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराएकोमा त्यो सेवा रोकिएपछि बिरामीले सास्ती खेप्नुपरेको छ। शल्यक्रिया सेवा शुरु भएको जानकारीको प्रचार गरिएपनि बन्द भएको जानकारी कसैलाई पनि दिइएको छैन। 

करार सेवाका लागि पुनः आवश्यकता खुलाउने तयारी भइरहेको डा थापाले बताए। ब्लड बैंकको समेत अभाव भएकाले शल्यक्रियाका लागि समस्या छ। सम्पर्कमा रहने व्यक्तिबाट तत्कालै रगत दिने सर्तमा मात्र शल्यक्रिया सेवा गरिएको भए पनि एक महिनादेखि सेवा रोकिएपछि रगत दिने व्यक्ति पनि सम्पर्कमा राख्न नसकिएको थापाको भनाइ छ। 

जिल्ला अस्पताल पर्वतले बिरामीलाई दिने सेवामा समेत गुनासो आउने गरेको छ। शल्यक्रिया सेवा शुरु भएपछि अहिलेसम्म ३५ भन्दा बढीले प्रसूति सेवा लिएको तथ्यांक अस्पतालमा छ।   (रासस)

प्रकाशित: ३ माघ २०७४ ०५:१४ बुधबार

जिल्ला अस्पताल पर्वतमा शल्यक्रिया सेवा ठप्प