समाज

प्रदूषण र चिसोले खोकीको प्रकोप

काठमाडौं – राजधानीमा बढ्दो धुवाँ र चिसोका कारण उपत्यकामा दीर्घ खोकीका बिरामी बढेका छन् । अहिले खोकीका रोगीहरूलाई दीर्घ खोकी लागेर निको हुनै महिनौं लाग्ने गरेको चिकित्सकहरू बताउँछन् । ‘पहिला सामान्य उपचार गरेपछि एक सातामा निको हुने खोकी अचेल महिनाैँ लम्बिने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगंजका श्वास–प्रश्वास रोग विशेषज्ञ डा. निरज बमले भने, ‘चिसोका कारणले दमका रोगीलाई सास्ती भएको छ भने नयाँ खोकीका कारण बिरामीहरू पहिला जस्तो छिटै निको हुन सकेका छैनन् ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभागका संयोजक डा. शेरबहादुरले पुनका अनुसार रुघाखोकीले लामो समय सताएपछि मात्रै बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन् । ‘बिरामी आफैंले एन्टिवाइटिक खाँदा पनि खोकी निको भएन भन्दै आउँछन्’ डा.पुनले भने । बिरामीहरूमा खोकी लाग्ने, वान्ता हुने, ज्वरो आउने र ज्वरो निको भए पनि खोकी भने लामो समय निको नभएको चिकित्सकले बताएका छन् ।

दमका दीर्घे बिरामीलाई चिसो बढेपछि सास फेर्न गाह्रो हुने र खोकी लाग्ने समस्या बढेको डा. बमले बताए । ‘धुलो र चिसो बढेमा यसको अवधि थप लम्बिन सक्छ,’ डा.पुनले भने ।

कसरी बच्ने ?
– जाडोमा न्यानो कपडा लगाउने 
– आफू बस्ने कोठा न्यानो पार्ने 
– बाहिर हिँड्दा भरपर्दो माक्स लगाएर हिँड्ने 
– धुलो र चिसोबाट जोगिने
​– फ्रिजका नखाने

शिक्षण अस्पतालमा दैनिक औसत १ सय जना यस्ता बिरामी आउने गरेका छन् । टेकु अस्पतालमा यस्ता बिरामी दैनिक ३० को हाराहारीमा आइरहेका छन् । ‘यस्ता बिरामी समुदायमा धेरै छन्, उनीहरु अन्य ठूला अस्पताल र नजिकका निजी अस्पतालमा पुगेको हु्ुनु पर्छ,’ डा.पुनले बताए ।

विगतका वर्षमा चिसोका कारण पुराना दमका र निमोनियाका बिरामीलाई मात्र सकस पर्ने गरेकोमा यो वर्ष सबैजसोलाई कठिन परेको चिकित्सकले बताएका छन् । सडकका नजिक बस्ने, सडकमा धेरै यात्रा गर्ने र उमेर पुगेका मानिसहरूलाई खोकीले बढी सताएको देखिन्छ ।

चिकित्सकका अनुसार यो वर्ष तापक्रम घट्नाले तथा काठमाडौंमा धुलो अत्यधिक बढेकाले पनि दीर्घे खोकीको प्रकोप बढेको हो । ‘दुई÷तीन वर्षपछि मात्र यतिका चिसो बढेको हो,’ डा. बमले भने, ‘धुलो र चिसोकै कारण खोकीको समस्या देखिएको हो ।’ धुलोेले सासनली संक्रमित गरी रुघाखोकी, घाँटी दुख्ने र घाँटीमा खसखस हुने जस्ता समस्या देखिने तथा चिसोले श्वासनली साँघुरो भएर दम बढ्ने र संक्रमण बढ्ने गर्छ । चिसो मौसममा प्रदूषित हावा श्वासनलीमा प्रवेश गरेपछि खोकीको अवधि लम्बिने गर्दछ । चिसोमा धुलोका कण सासनलीमा पुगेपछि खोकी सजिलै निको नहुने चिकित्सक बताउँछन् । खोकी निको नभएमा संक्रमण बढेर निमोनिया हुन सक्ने भएकाले यस्ता लक्षण देखिएका बिरामीले स्वास्थ्यमा चनाखो हुनुपर्ने चिकित्सकको सुझाव छ ।

उपत्यकामा धुलो बढेकाले नै संक्रमण बढी देखिएकाले यसमा सम्बन्धित पक्षले छिटो धुलो नियन्त्रण गर्ने, निर्माणका कार्य रातिमा मात्र गर्ने, कुनै पनि निर्माण कार्य गर्नुअघि वातवरणीय प्रभाव अध्ययन गरेर मात्र गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

 

प्रकाशित: ३ माघ २०७४ ०२:५४ बुधबार

प्रदूषण चिसोले खोकीको प्रकोप