समाज

भवनसंहिता लागू गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले भवनसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

मंगलबार वसन्तपुरमा आयोजित २०औं भूकम्पीय सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री देउवाले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सरकारले विपद् जोखिम व्यवस्थापन ऐन कार्यान्वयनमा ल्याउने बताए । विगतमा भूकम्पले पुर्याएको क्षतिबाट पाठ सिक्दै आगामी दिनमा जतिसक्दो कम क्षति हुने अवस्था बनाउन सरकार लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री वीरबहादुर बलायरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले सरकारको प्रयासले मात्र जोखिम न्यूनीकरण नहुने भन्दै त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले ०७२ वैशाख १२ मा गएको भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएका थिए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पलगत्तै काठमाडौंको अवस्था भयावह हुने अनुमान गरिए पनि सरकारी निकाय र जनता मिलेर परिस्थितिको सामना गर्दा अवस्था सामान्य बन्दै गएको बताए ।

स्थानीय निकायले भूकम्पपीडितका लागि निःशुल्क नक्सा पास गरिरहेको र  नक्सा पास गरेर मात्र संरचना निर्माण गर्ने वातावरण बनाइरहेको बताए । कार्यक्रममा भवन विभागका महानिर्देशक शिवहरि शर्मा तथा एनसेटका महासचिव आमोदमणि दीक्षितले भूकम्पीय जोखिम न्यूनीकरणका बारेमा बोलेका थिए ।

 

प्रकाशित: ३ माघ २०७४ ०१:३६ बुधबार

भवनसंहिता लागू गर्न प्रधानमन्त्रीको निर्देशन