समाज

अवैध हतियार सहित माओवादी नेता पक्राउ

नेपालगन्ज- लामो समयदेखि अवैध हात हतियारको कारोबारमा संलग्न रहेको आरोपमा नेकपा माओवादी केन्द्र बाँकेका नेता गरिबे शेखलाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश नम्बर ५ को विशेष प्रहरी व्यूरो टोलीले खजुरा गाउँपालिका वडा नम्वर ५ उढरापुरबाट नेता शेखलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन र चार राउण्ड गोली बरामद गरेको जनाएको छ।

हतियार किनबेचका लागी मोलमेलाई गरिरहेको अवस्थामा ५० हजार भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको प्रहरी ब्युरोले जनाएको छ। उढरापुर निवासी नेता शेखले भारतबाट अबैध हातहतियार ल्याएर विक्री गर्ने गरेको प्रहरीको आरोप छ। माओवादी केन्द्रका जिल्ला सदस्य रहेका उनी गत स्थानीय तहको निर्वाचनमा उक्त पार्टीबाट वडा नम्वर ५ को वडाअध्यक्षमा उम्मेदवार बनेका थिए। पक्राउ परेका शेखलाई ब्युरो टोलीले आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ।

 

प्रकाशित: ३० पुस २०७४ १३:३२ आइतबार

अवैध हतियार सहित माओवादी नेता पक्राउ