समाज

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने

नुवाकोट- माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाई मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाई मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ४० हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

“तारुकाको पौरख नेपालको गौरव” भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २० हल गोरु माघ १ गते सोमबार जुध्दै छन् । गोरु जुधाई मेला सञ्चालन गर्नको लागि गर्नुपर्ने सबै तयारी पूरा भइसकेको माघेसंक्रान्ति गोरुजुधाई संरक्षण संस्थाका सचिव केशव रिमालले बताए । “२० हल गोरुको श्रेणी छुट्टाएर जुधाउन लागेका छौँ । जस अन्तर्गत विशिष्ट श्रेणीमा दुई हल, (क) श्रेणीमा १० हल र (ख) श्रेणीमा ८ हल गोरु परेको छ,” सचिव रिमालले भने, ‘गोरुको उचाइ, मोटाइ र क्षमताको आधारमा श्रेणी छुट्टाएका हौँ।”

नुवाकोटको बुधसिङ, तारुका, धादिङको खाल्टे, कल्लेरी र धुवाकोटका किसानहरुको गोरु जुधाउनको लागि दर्ता भएको छ। रिमालका अनुसार मेलामा सहभागी हुने विजेता गोरु धनीलाई पाँच हजार रुपैयाँ र उपविजेतालाई तीन हजार रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ।

मेला स्थलसम्म सवारी साधनसहित पुग्ने सहभागीहरुको साधन पार्किङ गर्ने स्थलको निर्माण गरिनुको साथै सहभागीहरुको लागि स्वच्छ खानेपानी, सुपथ मूल्यमा खाना तथा खाजाको व्यवस्था गरिएको छ।

बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सांस्कृतिको संरक्षण तथा पर्यटनको प्रबद्धनको लागी केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउँदै आएका छन्। बझांङ्गी राजकुमार जयपृथ्विबहादुर सिंह मावली गाँउ तारुका आउँदा उनलार्ई मनोरञ्जन दिन जुधाईएको गोरुलाई स्थानीयवासीले निरन्तरता दिदै आहिंले सस्कृति, परम्परा र पर्यटन प्रबद्धनसंग जोडेर व्यवस्थित रुपमा निरन्तरता दिदै आएका छन्।

गोरु जुधाई मेलालाई लक्षित गरी सोमबार दैनिक ८ घण्टा बन्द हुदै आएको गल्छी–देवीघाट सडकखण्ड बन्द नहुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले जनाएको छ।

यस्तै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० बेत्रावतीमा १० हल गोरु जुधाउनको लागि दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए।

विजेता गोरुको धनीलाई तीन हजार रुपैयाँ र उपविजेता गोरुको धनीलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । २०६७ सालदेखि बेत्रावतीमा व्यवस्थित रुपमा गोरु जुधाइदै आएको छ।

बिक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीच भएको व्यापार सन्धीको खुसियालीमा आयोजना गरिएको गोरु जुधाई मेलालाई संस्कृति र परम्परा धान्नको लागी निरन्तरता दिदै आएको छ।

यता पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ पञ्चकन्यामा पनि सोमबार १० हल गोरु जुधाइने भएको छ।

पञ्चकन्यामा रहेको नवप्रतिभा युवा समूहले आयोजना गर्न लागेको गोरु जुधाइको लागि १० हल गोरु पालक किसानहरुले नाम दर्ता गराएको आयोजक समूहका अध्यक्ष शिवहरी विष्टले बताए। माघ १ गते गोरु जुधाउनको लागि थप्रेक, समुन्द्रादेवी, पञ्चकन्या, भद्रुटार र महाकालीमा रहेका किसानहरुले नाम दर्ता गरेका छन्।

गोरु जुधाइ प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई १० हजार रुपैयाँ, दोश्रो हुनेलाई ७ हजार रुपैयाँ र तेश्रो हुनेलाई ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समूहले जनाएको छ।

परापूर्वकालदेखि चल्दै आएको गोरु जुधाई मेलालाई निरन्तरता दिन हरेक वर्षको माघ १ गते विगत ४ वर्षदेखि गोरु जुधाई प्रतियोगिता नवप्रतिभा युवा समूहले आयोजना गर्दै आएको अध्यक्ष विष्टले बताए।

 

प्रकाशित: ३० पुस २०७४ ११:०५ आइतबार

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने