व्यापार घाटा चर्को भइरहेको बेला नेपालबाट वर्षेनी ३ करोड क्युब फिट काठ विदेश निर्यात हुनसक्ने बताइएको छ।
नेपालका जंगलबाट वार्षिक रुपमा ९ करोड क्युब फिट काठ निकाल्न सकिने र नेपालको कूल बजार माग जम्मा ६ करोड क्युब फिट रहेको बताइएको छ। यसअनुसार नेपालले वर्षेनी ३ करोड क्युब फिट काठ विदेश निर्यात गरेर विदेशी मुद्रा समेत आर्जन गर्न सकिने बताइएको हो।
नेपाल बन पैदावर उद्योग व्यवसायी महासंघ उपत्यका विशेष समिति, महासंघ भक्तपुर र ललितपुर समितिको शनिबार भक्तपुरमा भएको तीन छुटाछुटै कार्यक्रमका वक्ताहरूले देशमा व्यापार घाटा बढिरहेको बेला नेपालका काठलाई विदेश निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताए।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मञ्जिलबाबु मास्केले नेपालका वन जंगलबाट वर्षेनी नेपालको बजार मागभन्दा धेरै काठ निकाल्न सकिने बताए। तर नेपाल काठमा पनि परनिर्भर नै रहेको उनले बताए।
महासंघका महासचिव माधवमणि हुमागाई सरकारको अत्यधिक संरक्षणको नीतिका कारण वनजन्य वस्तुको उपभोगमा समस्या आइरहेको सुनाए। यही कारण वर्षेनी अर्बौँ रुपैयाँको आयात बढिरहेको उनी बताउँछन्।
यही कारण हाल नेपालमा अमेरिका, युरोप र अफ्रिकाबाट समेत काठ आइरहेको वक्ताहरूले बताए। जबकि, नेपालका वन जंगलमा वर्षेनी खर्बौँ रुपैयाँ खेर गइरहेको छ। सरकारले वन जंगलको संरक्षण गर्न कडा नीति अवलम्बन गर्दा वर्षेनी अर्बौँ रुपैयाँ बराबरका वन पैदावारजन्य वस्तुको आयात भइरहेको उनीहरुको भनाई थियो।
विदेशबाट वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढीको काठ आयात भइरहेको तथ्यांक छ। यस्तै, करोडौँ रुपैयाँको तयारी फर्निचर, जडीबुटीजन्य वस्तु लगायतका सामग्री आयात भइरहेका छन्। अत्यधिक संरक्षणका कारण स्वदेशी वन जंगलमा भने वार्षिक खर्बौँ रुपैयाँको स्रोतसाधन खेर गइरहेका छन्।
वन तथा वातावरण मन्त्रालयको एक अध्ययनअनुसार वन क्षेत्रले नेपालको कूल भूभागको ४१.९ प्रतिशत क्षेत्रफल ओगटेको छ। यस्तै, ४ प्रतिशत भूभाग बुट्यान क्षेत्रले गरी कल ४५ प्रतिशत भूभाग वन तथा बुट्यान क्षेत्रले ढाकिएको तथ्यांक छ।
यसबाट नेपालले वर्षेनी प्रचुर फाइदा उठाउन सक्छ तर फाइदा उठाउन सकिरहेको छैन। विदेशबाट कच्चा काठ आयातमा नै १८ अर्ब रुपैयाँभन्दा बढी रकम वार्षिक रुपमा बाहिरिने गरेको छ। दिनभर लगाएर तीन पटक छुटाछुटै भएको कार्यक्रमका अधिकांश वक्ता उही थिए।
तीन वटै कार्यक्रमको प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष मञ्जिलबाबु मास्के नै थिए। कार्यक्रममा ललितपुर र भक्तपुरका वन प्रमुखलगायतका व्यक्तिहरूले सम्बोधन गरेका थिए।
प्रकाशित: १६ मंसिर २०८० १२:१६ शनिबार