समाज

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

राजविराज – एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १मा अध्ययनरत सातवर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरलाई उद्धृत गर्दै स्थानीयवासीले जनाएका छन्।

दुवैको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंहह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यससँगै सप्तरीमा हालसम्म १८ जनाको चिसोबाट मृत्यु भए पनि प्रहरीले ६ जनाको मात्र पुष्टि गरेको छ।

प्रकाशित: २४ पुस २०७४ १५:३६ सोमबार

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु