समाज

चिसोका कारण भाइरलका विरामीलाई सकस

जाजरकोट- अत्यधिक चिसोका कारण दुई हप्ता देखि जिल्लामा फैलिएको  भाइरल ज्वरोको विरामीको उपचारमा समस्या देखिएको छ। भाइल प्रभावित क्षेत्रमा  पुगेका स्वास्थ्यकर्मीहरुले चिसोका  कारण   प्रभावकारी  सेवा दिन नसकेको र  विरामीहरुलाई पनि निकै सास्ती भएको छ। प्रकोप प्रभावित क्षेत्र  जुनीचाँदे गाउँपालिकाका विभिन्न गाउँहरुमा विरामीको उपचारका लागि खटिएका  चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुले  चिसोका कारण विरामीहरुलाई सास्ती भएको  बताएका छन्।

 जिल्ला स्वास्थ्य कार्यालयबाट प्रकोप प्रभावित क्षेत्रमा  खटिएका ल्याव टेक्निसियन कृष्णवहादुर खत्रीले  चिसोका कारण   विरामी वालवालिका र वृद्धवृद्धाहरुलाई निकै सास्ती भएको  बताए।  उनले  अहिले सम्म  विभिन्न तीन ठाउँमा शिविर चलाएर  ५ सय वढी विरामीको  उपचार गरिएको  र  चिसोले  उपचारमा समेत  समस्या परेको बताए। प्राथमिक स्वास्थ्य केन्द्र   गर्खाकोटका  डाक्टर पवन शाक्य, स्वास्थ्य चौकी वडकुलेका  इन्चार्ज   हरिवहादुर सिंह, र अहेव लक्ष्मण शाह र  अनमी संगीता शाहको  नेतृत्वमा  विभिन्न तीन समूह भएर  भारलका विरामीहरुलाई उपचार गर्ने क्रम तिव्र पारिएको  उपचारमा संलग्न  डाक्टर पवन शाक्यले बताए। उनले   सोमवार देखि  रोग प्रभावित क्षेत्रमा  नेपाली सेनाका स्वास्थ्यकर्मीहरु पनि   परिचालित भएको  बताए।

जुनीचाँदे गाउँपालिका  २ को स्याला, मौगान  र ३को  वड्कुलेमा  भारल ज्वरोका विरामीहरु धेरै रहेको  स्वास्थ्यकर्मीहरुले बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालयबाट प्रकोप प्रभावित क्षेत्रमा  प्रयाप्त औषधी पठाएर विरामी उपचारको व्यवस्था गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामवहादुर नेपालीले बताए। यस अघि  मृत्यु भएका ९ जना मध्य  अधिकांश अन्य रोगका विरामी भएको र उनीहरु चिसो र भाइरल ज्वरोको प्रभावले  मरेको  प्रमुख नेपालीको भनाइ छ।

अहिले स्वास्थ्यकर्मीको पहलले  भाइरलको प्रकोप नियन्त्रणमा  आउन लागेको   स्थानी काशीराम न्यौपानेले बताए। उनले  गाउँ गाउँमा  औषधि  पुगेको  र स्वास्थ्यकर्मीले  प्रकोप प्रभावित गाउँमा   शिविर चलाएको कारण   विरामीको संख्या  घट्दै गएको  बताए।

गाउँमा  सर्वसाधारणहरु  भारल ज्वरोबाट प्रभावित भएको  बेला  जनप्रतिनिधिहरु भने कोहि पनि  नभएको भन्दै स्थानीयले  गुनसो गरेका छन्। विभिन्न सामाजिक सन्जाल र  अन्य माध्यमवाट  स्थानीय तह र प्रदेश सभा एवम  प्रतिनिधि सभाका  जनप्रतिनिधिहरुले जनता आपतमा पर्दा नहेरेको भन्दै  गुनासो गरेका हुन्। 

 

प्रकाशित: २४ पुस २०७४ ०९:४६ सोमबार

चिसोका कारण भाइरलका विरामीलाई सकस