समाज

मोरङ प्रहरीले थाल्यो फरार प्रतिवादी पक्राउ अभियान

विभिन्न मुद्दामा अदालतबाट कसुर ठहर गरी कैद र जरिवाना सजाए पाएर भुक्तान नगरी फरार भएको प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न थालेको छ।

कसुर ठहर भई कैद र जरिवाना भुक्तान नगरी फरार भएका प्रतिवादीलाई पक्राउ गरी सजाए भुक्तान गराउनका लागि विशेष अभियान थालेको मोरङ प्रहरीले जनाएको छ। फरार भएका प्रतिवादीहरूलाई विशेष अभियान चलाएर पक्राउ गरी कैद र जरिवाना भुक्तानका लागि अदालतमा पेश गर्न थालेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षको साउनयता १ सय ९८ जना फरार प्रतिवादी पक्राउ परी सकेका छन् । चालु आर्थिक वर्षको हालसम्म १ सय ९८ जना फरार प्रतिवादी पक्राउ पर्दा ५३ वर्ष २ महिना ५ दिन कैद र ३५ लाख ५३ हजार ३ सय ६४ रुपैयाँ जरिवाना असुल भएको बताउँदै, डिएसपी दाहालले भने, ‘विभिन्न अपराधमा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरीकन फरार भएकाहरूको विशेष अभियानमार्फत पक्राउ गर्न थालेका हौँ। अदालतले सजाए सुनाए पनि उनीहरु लामो समयदेखि सम्पर्कविहीन हुँदै फरार सूचिमा रहेका थिए।’

अदालतले दोषी ठहर गरे पनि फरार भई पुनः अपराधमा संलग्न भएको भेटिएको डिएसपी दाहालले बताए। अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला गरे पनि फरार भएकाहरूको खोजी गरी अदालतमा बुझाएकामध्ये कैदको फैसला भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको र जरिवानाको फैसला भएकालाई त्यसबापतको रकम असुल गरेर छाडिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८० १३:१८ बुधबार

प्रहरी प्रतिवादी