समाज

सप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द

सप्तरी– विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासी बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ। 

राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ। 

खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्याधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। 

साथै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जाडोबाट उत्पन्न हुने रोगका बिरामीको उपचारका लागि अत्यधिक आउने गरेको पाइएको छ।

त्यसैगरी सप्तरीका स्वास्थ्य चौकीमा पनि निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोगका बिरामी आउने गरेको सकरपुरास्थित स्वास्थ्य चौकीबाट बुझिएको छ। 

सामुदायिक विद्यालय बन्द 

यसैबीच, विगत चार दिनदेखि अत्यधिक चिसो बढेका कारण जनजीवन कष्टकर भएपछि सप्तरीका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिएको छ। 

जिल्ला शिक्षा कार्यालयका अनुसार निरन्तरको शीतलहरले अत्यधिक चिसो बढेपछि बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय बन्द गर्नुपरेको हो। ती विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले  बताए। 

चिसोकै कारण कतिपय विद्यालयमा विद्यार्थी आउनेक्रम घटेपछि बाध्य भएर विद्यालय बन्द गरिएको उनले बताए। 

सप्तरी जिल्लामा ४१२ वटा सामुदायिक विद्यालय रहेका छन्। यता जिल्लाका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिए पनि निजी विद्यालय भने सञ्चालनमा नै रहेका छन्। 

प्रकाशित: २१ पुस २०७४ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App