समाज

चिसोले हिमाली बस्तीमा गतिविधि शून्य

पोखरा- अचानक बढेको चिसोले हिमालपारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ । अधिक चिसोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । पर्यटकीय गतिविधि पनि घटेका छन् । सदरमुकाममा समेत स्थानीयको चहलपहल कम भएको स्थानीय प्रशासनले जनाएको छ । कास्की पोखरामा पनि बुधबारदेखि चिसो बढेको छ ।
मनाङमा अधिक चिसोका कारण धारामा पानी आउन छाडेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार सदरमुकाम चामेका घरमा तीनदिनदेखि धारामा पानी आएको छैन । ‘चिसोका कारण जमेर धारामा पानी नआएको तीन दिन भयो । दिउँसो घाम लागेका बेला बल्ल पानीको थोपा चुहिन्छ,’ उनले भने, ‘धारामा पानी नआउँदा समस्या भएको छ ।’
पन्तका अनुसार मनाङ सदरमुकाम चामे र आसपासका क्षेत्रको तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म झरेको छ । ‘राति माइनस १२ डिग्रीसम्म तापक्रम घट्छ । दिनमा घाम लाग्दा तापक्रम केही बढे पनि चिसो हावाका कारण कार्यालयबाट बाहिर निस्कन पनि मुस्किल छ,’ उनले भने, ‘चामे आसपासका डाँडामा हिउँ परेकाले अधिक चिसो छ । सदरमुकाम चामेमा समेत हिमपात भएको छ । ‘खोंचको सदरमुकाममा घाम लाग्न नपाउँदै अस्ताउँछ । घाम लागिहाले पनि न्यानो अनुभव गर्न पाइँदैन,’ उनले भने, ‘शरीर तात्न नपाउँदै घाम अस्ताउँछ । हावाले गर्दा पनि न्यानो अनुभव गर्नै पाइँदैन ।’
चिसोका कारण अन्नपूर्ण पदमार्गमा पनि विदेशी पाहुनाको चहलपहल निकै घटेको उनले बताए । सोमबार १३ र मंगलबार ३३ जना विदेशीमात्र पदयात्रमामा पुगे । ‘विदेशी पाहुना पनि घट्नेक्रम छ । बाँक्लो हिउँ पर्न सक्ने भएकाले हामीले पदयात्रीलाई सचेत गराका छौं,’ उनले भने । पन्तका अनुसार चिसोका कारण चामे आसपासका बासिन्दा जाडो छल्न लम्जुङको बेसीसहर, चितवन, काठमाडौं लागिसकेका छन् । त्यसले गर्दा गाउँ पनि सुनसान छन् । मनास्लु हिमालसहित आसपासका डाँडा हिउँले सेताम्य छन् ।
अर्काे हिमाली पारिको जिल्ला मुस्ताङमा पनि अधिक चिसो बढेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । उनका अनुसार सदरमुकाम जोमसोममा रातिको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झर्ने गरेको छ । ‘मान्छेको चहलपहल पनि निकै कम छ,’ तिवारीले भने, ‘घाम लागे पनि चिसो हावाका कारण न्यानो महसुस हुँदैन ।’
अहिलेसम्म सदरमुकाममा बाक्लो हिमपात नभए पनि आसपासका डाँडा सेतै भएका छन् । ‘जोमसोम आसपासका डाँडा पूरै सेतै छन् । सिरेटो हावा चलेको छ,’ उनले भने, ‘घाम लागे पनि न्यानो छैन ।’ मुस्ताङ पुगेका पर्यटक होटलभित्रै बस्न बाध्य भएको उनले बताए ।
मुक्तिनाथ क्षेत्रमा कार्यरत एक प्रहरीका अनुुसार चिसोका कारण बस्ती रित्तिएको छ । बस्तीका मान्छे जाडो छल्न बेसी (पोखरा) झरिसकेका छन् । ‘गाउँमा निकै कम मान्छे छन् । सबैतिर सुनसान छ । पर्यटक पनि फाट्टफुट्ट आउँछन्,’ उनले भने, ‘सबै गतिविधि शून्यजस्तै छ ।’ अन्नपूर्ण फेरो पार गर्दै थोराङपासबाट आक्कलझुक्कल पर्यटक  आए पनि अन्य पर्यटकीय गतिविधि नभएको ती प्रहरीले बताए । उनका अनुसार भाँडामा राखेको पानी चिसोले जम्न थालेको छ ।  
हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले पोखरामा पनि अचानक चिसो बढेको बताए । दिनमा घाम लागे पनि बिहान र बेलुकी निकै चिसो बढेको छ । उनका अनुुसार मंगलबारसम्म पोखराको तापक्रम ७–८ डिग्री सेल्सियस रहेकोमा बुधबार ५ डिग्रीमा झ¥यो  । उनका अनुसार बुधबार बिहान अचानक तापक्रम घट्दा ह्वात्तै चिसो बढेको हो ।
‘उनले भने, ‘दिउँसो घाममा बस्न पाउँदा त न्यानो छ । तर, बिहान र बेलुकी पोखरामा पनि निकै चिसो छ ।’  हिमाली जिल्लामा बाक्लो हिमपात भइरहेकोले पनि चिसो हावाका कारण पोखरामा पनि जाडो बडेको उनले बताए । ढकालका अनुसार पश्चिमी वायु प्रभावले यतिबेला हिउँ पर्छ ।

प्रकाशित: २० पुस २०७४ ०२:५९ बिहीबार

चिसोले हिमाली बस्तीमा गतिविधि शून्य