समाज

चिसोको कारण महोत्तरी जनजीवन कष्टकर

महोत्तरी – केही दिन देखि एक्कासी बढेको चिसो र शितलहरका कारण महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।
   
चिसो बढेसँगै बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र पश्चिमी स्याठले तापक्रम तल झर्न थाले पछि यहाँको शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाहरूको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
   
चिसोले सबै भन्दा बढी बालबालिका र वृद्धवृद्धाहरू प्रभावित हुन थालेको स्थानीयले बताएको छ । विहानैदेखि चल्ने शितलहर र हुस्सुका कारण घरबाट निस्कने सर्वसाधारणको क्रममा पनि कमी आएको छ ।
  
चिसोको कारण १० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीको अधिकांश ग्रामीण भूभागका  स्थानीय प्रभावित छन् ।
 
चिसोको कारण जिल्ला अस्पताल जलेश्वरमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीहरूको चाप बढेको जलेश्वर अस्पतालका चिकित्सक साकेस लाल कर्णले बताए।  

चिसोको कारण हुने रोगका विरामीहरू दैनिक १० देखि १५  जना सम्म उपचारका लागि जलेश्वर अस्पतालमा आउन थालेको चिकित्सक कर्णले बताए। 

हुने खाने भन्दा पनि अति विपन्न परिवार र दलित बस्तीहरूमा चिसोले बढी समस्या देखिएको छ। राम्रो ओढ्ने ओच्छायाउने व्यवस्था नहुँदा दिन चर्या कष्टकर बन्न पुगेको स्थानीयले बताएको छ।    
सितापुर भंगहा, हतिसर्वा, रघुनाथपुर, औरही, विजलपुरा, रामगोपालपुर, लक्ष्मीनियामा बाक्लो बसोबास रहेको मुसहर र बाँतर समुदायमा चिसोले सब भन्दा बढी प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी जलेश्वर शाखाले जनाएको छ ।
 
यता शितलहरले गेहुँ, टमाटर, आलु, प्याज, लहसुन लगायतका तरकारीबालीमा पनि प्रत्यक्ष असर पार्ने सम्भावना उत्तिकै रहेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले बताएको छ । 

चिसो र शितलहर शुरु भएपछि तरकारी बालिका लागि पकेट क्षेत्र मानिएका धिरापुर, पिपरा, भंगहा, विजलपुरा, माइस्थान, महदैया तपनपुर, निगौल, रामनगर, पशुपतिनगर, मझौरा विष्णुपुर, बर्दिवास, धमौरा, लक्ष्मनिया, मटिहानीमा चिसोले सबभन्दा बढी प्रभाव पार्न सक्ने सम्भावना बढेको कृषि विकास कार्यालयले जनाएको छ । 
यता स्थानीयहरूले चिसोको कारण महोत्तरीमा वर्षेनी जनधनको क्षति व्यहोर्नु परे पनि शितलहरबाट बच्न सरकारी निकायले अहिलेसम्म कुनै पनि प्रकारको प्रयास गरेको देखिँदैन। 

प्रकाशित: १९ पुस २०७४ १०:४१ बुधबार

चिसोको कारण महोत्तरी जनजीवन कष्टकर