समाज

रुक्शना कपाली: विश्वकै प्रेरणादायी र प्रभावशाली महिला

बेलायती सञ्चारमाध्यम बिबिसीले हरेक वर्ष प्रकाशित गर्ने सय प्रभावशाली महिला सूचीमा यस पटक नेपालकी रुक्शना कपाली परेकी छन्। बिबिसीले सोमबार सार्वजनिक गरेको सन् २०२३ का लागि संसारभरका एक सय जना प्रभावशाली महिलासूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा सक्रिय अभियानकर्मी कपाली परेकी हुन्।

कपाली नेवाः समुदायकी सदस्य तथा पारलैंगिक मानव अधिकारकर्मीसमेत हुन्। आफू हुर्कंदै गर्दा आफ्नो पहिचानबारे यथेष्ट जानकारी नभएकाले उनले किशोरावस्थादेखि तेस्रो लिंगीसँग सम्बद्ध विषयमा सामाजिक सञ्जालमा पैरवी गर्दै आएकी छन्।  

कानुन विषयमा स्नातक तह अध्ययनरत कपाली नेपालका एलजिबिटिआइक्यु प्लस समुदायका मानिसको कानुनी र संवैधानिक अधिकार दिलाउन लागि परेकी छन्। उनी राजनीति र वकालतअन्तर्गत आवास अधिकार अभियानकर्मीको रूपमा बिबिसीको एक सय प्रभावशाली महिलासूचीमा परेकी हुन्। सो सूचीमा नारीवादी नेतृ ग्लोरिया स्टाइनम, जोर्जिआकी पत्रकार तमार मुसेयरिंजे, मानवअधिकार अधिवक्ता अमाल क्लुनी, पूर्वसैन्य अधिकृत रिना गोनोई, सांसद डिएना डेभिसन, मन्त्री सोनिया ग्वाजजरा, शरणार्थी अधिकार अभियानकर्ता सुमिया तोरा र अमेरिकी पूर्वप्रथम महिला तथा लेखक मिचेल ओबामालगायत परेका छन्।  

नेवाः समुदायमा सीमान्तकृत भनिने ‘जुगी’ जातिकी सदस्य यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा सक्रिय छिन्। कपाली सो समुदायका मानिस बस्दै आएको घरमा बलपूर्वक निकालिने कार्यविरुद्ध संघर्ष गरिरहेकी छन्। यसअघि सन् २०१७ मा नेपालबाट सो सूचीमा कारागारमा रहेका आमाबाबुका छोराछोरीलाई शिक्षाको पहुँच प्रदान गर्न सक्रिय समाजसेवी इन्दिरा रानामगर परेकी थिइन्। सन् २०१८ मा सो सूचीमा बादी समुदायका महिलामाथि हुने विभेदमा आवाज उठाउँदै आएकी नेतृ उमादेवी बादी परेकी थिइन्। सन् २०१९ मा नेपाली बोनिता शर्मा र सन् २०२० मा सो सूचीमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोक्का मगर परेकी थिइन्।

बिबिसीले यस वर्ष जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने अग्रणी व्यक्ति, संस्कृति र शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत, विज्ञान, स्वास्थ्य तथा प्रविधिअन्तर्गतबाट प्रभावशाली सय महिला छनोट गरेको हो।  

यस वर्षको सूचीमा जलवायु परिवर्तनको क्षेत्रका सक्रिय २८ जना महिलाहरूसमेत परेका छन्। जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने अग्रणी व्यक्तिमा मानसिक स्वास्थ्य अभियानकर्मी जेनिफर उचेन्डु, फोटोग्राफर आरतीकुमार राव, हरित ऊर्जा परामर्शदाता नतालिया इन्द्रिसोभा र हास्यव्यङय कलाकार एन ग्राललगायत परेका छन्। संस्कृति र शिक्षा विधामा मोडल तथा इन्फ्लुअन्सर लिसा फेर्ज, कलाकार चिलाकुमारी बर्मन, बौद्ध भिक्षुणी जेत्सुन्मा तेन्जिङ पाल्मो, जलनपीडित अभियानकर्ता जज्नतुल फिर्दिस, सौन्दर्य व्यवसायी हुदा कत्तान र कवि डारिया सेरेन्कोलगायत परेका छन्।  

मनोरञ्जन र खेलकुद विधामा बलिउड अभिनेत्री दिया मिर्जा, हलिउड स्टार अमेरिका फरेरा, ब्लोन डीओर विजेता फुटबलर आइताना बोन्माती, डिजे पारामिदा, क्रिकेटर हरमनप्रित कौर र बहिरा कलाकार जस्टिना माइल्स परेका छन्। त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि विधामा सडक सुरक्षा प्राध्यापक एस्ट्रिड लिन्डर, वैज्ञानिक जानान डाग्डिभिरेन, मिड्वाइफ नेहा मंकणी, चिकित्सक नाटाली सेला र बालअधिकार पैरवीकर्ता ओलेना रोज्भाडोभ्स्कालगायत परेका छन्।

प्रकाशित: ६ मंसिर २०८० ०१:१४ बुधबार

प्रभावशाली महिला नेपालकी रुक्शना कपाली मानव अधिकारकर्मी कानुन