समाज

महापर्व छठको अनुष्ठान सुरु

छठ पूजाका लागि केरा किनेर घर लग्दै ब्रतालु महिला । तस्विरःनागरिक

प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान सुरु भएको छ।आज शुक्रबार ब्रतालुले नहाय खाय गरी यो पर्वको विधिवत् सुरुआत गरेका छन्।उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोकपर्वका लागि मधेसलगायत देशदेशान्तरका नदी किनार, खोला छेउ, पोखरीका डिल र नहर वरपर सरसफाइ गरी झिलिमिली पारिएको छ।

ब्रतालुले शुक्रबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी पर्वको थालनी गर्छन्।पहिलो दिनको ‘नहाय खाय’ विधिपछि उनीहरू दोस्रो दिन साँझसम्म उपवास बस्छन् ।

घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिनसम्म यो पर्व मनाउँछन्।यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ । प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छोड्छन्।

ब्रतालुले नै पूजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दिपावलीजस्तै वातावरण हुन्छ । यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो । सबै जाति,धर्म, वर्ग र लिंगकाले पूजा गर्न सक्ने हुनाले योसामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो।

पर्वको दोस्रो दिन साँझ ब्रतालु चोख्याइएको एक कोठाभित्र खिर, केरालगायतका परिकार तथा फलफूल केराको पातमा फिँजाएर ईश्वरको आराधना गर्छन्। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन्।त्यसपछि परिवारजन एवं छरछिमेकलाई बाँडछन्।

घरभित्रै दुईदिने विधिपछि आइतबार साँझ (सँझिया घाट) र सोमबार बिहान (भोरका घाट) जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ। पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदाइरहेको सूर्यलाई प्रसादसहित दूध एवं जलको अर्घ दिन्छन्।

छठ नसकुन्जेल ब्रतालुले घरमा समेत दीपावली गर्छन् । छठ मातालाई दुर्गा एवं लक्ष्मीकै रुपमा समेत सम्झिदै दसैं एवं तिहारमा समेत मधेसवासीले छठको गीत गाउँछन् बिहानको अन्तिम अर्घपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्।

लगातार चौथो दिनसम्म ब्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ। परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन्।नसक्ने भएपछि वरियता क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेबारी दिइन्छ।पुस्तौंसम्म यो क्रम चलिरहन्छ।यो गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो। नसक्नेले मागेर पनि गर्छन् । भाकलअनुरुप सम्पन्नले पनि भिक्षा माग्ने परम्परा छ।

समानताको पर्व

मधेस प्रदेशको भगवानपुर गाउँपालिका–२ लरहा गाउँकी बुजुनदेवी मलिक वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अघ्र्य चढाउँदै आएकी छिन् । यही पोखरीमा यस टोलका अन्य जातका व्रतालु पनि छठ पूजा गर्छन् । अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै सँगै हुन्छन् । न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग । मलिक भन्छिन्,‘छठका बेला हामी छुवाछूतको पीडा भुल्छौं।’

छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठ्छन् । मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै ।’ छठ घाटमा सबै जातजातिको पूजासामग्री एउटै घाटमा हुन्छ । उनी भन्छिन्,‘एउटै पोरीमा सँगै उभिदा पनि पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्।’

सिरहा बरियारपट्टी गाउँपालिका–३ की निलम मलिक भन्छिन्, ‘छठले छुवाछूतको पीडा मात्र भुलाउँदैन, आर्थिक पीडा पनि भुलाउन मद्दत गर्छ ।बाँसको समग्रीको माग बढ्ने भनेकै छठ पर्वमा हो।’ 

छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पस सिरहाका सहप्राध्यापक उमेशकुमार झाको तर्क छ । पहाडी समुदायका महिला पनि उत्साहपूर्वक छठ व्रत तथा पूजामा सहभागी हुँदै आएका छन् । सिरहा गोलबजार नगरपालिका–६ की डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको झन्डै ६ दशक भयो । छोरा पाउनका लागि गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्।७१ वर्ष पार गरिसकेकी उनलाई पछिल्लो ६ वर्षदेखि छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँदै आएकी छिन् । सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ । श्रेष्ठ परिवारमा विश्वास छ– डम्बरकुमारीलाई छठीमैयाँले ठूलो उपहार दिइन्।

मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि यो पर्वको महिमा रहेको उनको अनुभूति छ। सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य रहेको उनी बताउँछिन्।

३६ घण्टा निर्जल र निराहार व्रत बस्दा पनि शरीरले साथ दिनुलाई यो पर्वको शक्ति मान्छिन् रञ्जु । ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो, यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ । पहिला मिथिलावासीले मात्र मनाउने यस पर्वले अहिले पहाड–मधेसको सम्बन्ध जोड्दै छ,’ आमाको बिँडो थामेर एक दशकदेखि छठ व्रत बस्दै आएकी लहानकी अम्बिका यादव भन्छिन्, ‘छठ घाटमा मधेसी–पहाडी, दलित–गैरदलित भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्, सबै मिलेर सूर्यको उपासना गर्छन् ।’ विभिन्न धार्मिक मान्यता एवं आस्था अनुरुप परिवार कल्याण, रोग निदान, सन्तान प्राप्ति तथा समृद्धिको कामना गर्दै छठ मनाइन्छ ।

सूर्य पूजाको चलन

सूर्य पुराण अनुसार सबैभन्दा पहिला अत्रि मुनिका पत्नी अन्नसुईयाले षष्ठी व्रत गरेका थिए । फलतः उनले अटल सौभाग्य तथा पति प्रेम पाएका थिए।

महाभारतमा उल्लेख गरिए अनुसार पाण्डवहरूलाई राज्य निकाला गरिएको थियो । उनीहरू द्रौपदीसहित अज्ञात बास रहेका थिए । त्यतिबेला नै गुप्त बास सफल होस् तथा राजपाठ पनि फर्कियोस् भने कामना गर्दै सूर्यको आराधना द्रौपदीले गरेका थिए । परिणामस्वरूप उनीहरूको राजपाट फर्किएको चर्चा पाइन्छ।

कृतिका वृष राशीमा ६ वटा नक्षत्रहरूको समूह छ।कार्तिकेय षष्ठी तिथिसँग सम्बन्धित छ।कार्तिकेका पत्नी हुन– षष्ठीका देवी, जसलाई प्रकृतिको छठम् अंश ब्रम्हाका मानस कन्या देवसेना भनिन्छ।

हिन्दु धर्मग्रन्थ अनुसार स्वयम्भु मुनिका पुत्र प्रियव्रतका पत्नी मालिनीलाई पुत्र प्राप्ति हुँदैनथ्यो । कश्यप ऋषिको सल्लाह अनुसार पुत्रयेष्टि यज्ञ उनले गरे । यसपछि मृत पुत्रको प्राप्ति भएको थियो।यस दुःखद घडीमा एक अद्भुत देवीको दर्शन भएको थियो, जो स्कन्द प्रिया स्कन्दका पत्नी थिए, जो प्रकृतिको छठम् अंशबाट उत्पन्न भएकोले षष्ठी कहलिए । त्यसपछाडि उनको पुत्र जीवित भएको थियो । चमन ऋषिका पत्नी सुकन्या (राजा शर्यातक पुत्री) यो कठोर ब्रतको अनुष्ठानको माध्यमले आफ्ना आँखा गुमाएका पतिलाई दृष्टि सम्पन्न बनाएका थिए । यिनलाई यो ब्रत गर्नलाई पुष्करनी नदीको किनारमा एक नाग कन्याले भनेका थिए । यस्तै, कृष्ण पुत्र साम्ब र मैयुर सूर्य उपासनाबाट श्राप मुक्त भएका थिए । भनिन्छ, अकबरले पनि सूर्य पूजा गरेका थिए ।

सूर्यको सम्बन्ध

सूर्यबाट सबै जीवलाई समान लाभ प्राप्ति हुन्छ । सूर्य मानिसका आराध्य देवता हुन् । सूर्य पहिलो देवता तथा सबैका लागि पूजनीय हुन् । सूर्य दीर्घदर्शी, मानव जीवनका स्रोत, प्रकाश आशक्तिका प्रतीक एवं प्रत्यक्षरूपमा प्राकृतिक शक्तिको प्रतिनिधित्व गर्ने प्राचीनकालदेखिकै आराध्यादेवता हुन् । सूर्य बल, यश, चक्षु, आत्मा र मन हुन् । हिन्दु धर्मग्रन्थ अनुसार सात वटा घोडा र एउटा पांग्रा भएको रथको सवारी यिनले गर्छन् । यिनको किरणबाट सात वटा रंग निस्किन्छ । पञ्चदेवतामध्ये सूर्यको पहिलो पूजा हुन्छ । वैज्ञानिक दृष्टिकोणले समेत सूर्य सबभन्दा ऊर्जावान् पिण्ड हो ।  

छठ पर्वमा प्रयोग गरिने सामाग्रीहरु

यस पर्वमा बाँसका कप्टेराबाट डुम समुदायबाट बनाइएका छिठा(ढकिया), चंगेरा, कोनिया, कनसुप्ती, डगरा, सुप, डगरी, कुमहार जातिबाट निर्माण गरिएका कोशिया, कुरुवार, दीयोहात्ती कन्तरी, गम्हरी, धान, ठकुवा, भुसुवा, खजुरीया, खाजा, मुंगवा, मिठाई, स्याउ, सुन्तला, केरा, नारियल, बोगटी, झुपझुपा भएका उखु, बेसार, मुला, पान सुपारी, अद्रक पात, सिन्दुर, घ्यू, बद्धी, दुध आदि पूजा सामग्री तथा प्रसादीहरू प्रयोग गरिन्छ ।

फलहरुमा नारिवल, मूला, गाँजर, बेसारको गाँठो, ज्यामिर, सुतथी, ऊखु लगायतका झुप्पा झुप्पा फल्ने फलहरु चढाउँदा सूर्य देवता प्रशन्न हुने जन विश्वास छ । ठकुआमा तन्त्रिक चिन्ह अंकित हुन्छ । हाम्रा प्रायः पर्व कृषि उपजमा आधारित भएकाले हाम्रै घर आँगन, खेतवारीमा हुने फल्ने फलफुलको तथा अन्नको प्रयोग गरिन्थ्यो प्राध्यापक झा भन्छन्,‘ झुप्पाबाला फलफुल अर्थात् बेसार, ऊखु, मुला आदि प्रसादका रुपमा चढाइन्छ । तर, हिजोआज जमाना महँगिएको छ । तैपनि छठ जस्तो पर्व भएका हुनाले भीख मागेर भए पनि छठ गर्नै पर्ने प्रचलन अहिले पनि कायम छ ।  

सामाजिक सौहार्दता

कुनै खास जाति, वर्ग, धर्म, सम्प्रदाय, गरिब वा धनीलाई होइन । यसलाई प्रकृति पुजाको संज्ञा दिँदै सहप्राध्यापक झा भन्छन्,–मधेसमा जातिय छुवाछुतको भावना भए पनि छठ नै एउटा यस्तो पर्व हो, जसमा एउटै जलाशयमा समाजका हरेक जाति, धर्मका मानिसले सूर्यलाई पूजा गर्नु सामाजिक सद्भाव र समन्वयको उत्कृष्ट उदाहारण हो ।’ उनी अगाडि थप्छन्, ‘छठ पर्वले त्यो स्वर्ण युगको आभाष दिलाउँछ । जतिवेला एउटै धर्म थियो । र, त्यो दिव्यशक्तिको रूपमा प्रकृति पूजा नै थियो ।

यो पर्व मनाउनका लागि कुनै जाति बन्धन आवश्यक छैन । त्यसैले केही संख्यामा मुस्लमान र पहाडी समुदायका मानिसहरू मधेशसहित देशभर हर्षोल्लासपूर्वक छठ पर्व मनाउँदै आएका छन् ।

मानिसलाई सबैभन्दा बढी पानीबाट नै छुवाछुतको भावना जागृत हुन्छ । त्यसमा पनि माटाका भाडोबाट अझै हुन्छ । तर, यस पर्वमा प्रयोग गरिने बाँसका सामग्रीहरू कथित तल्लो जाति भनिएका डोम जातिबाट नै किनमेल गरिन्छ । यस्तै, यसमा प्रयोग गरिने अन्य सामग्रीहरू माली, बरइ, कुमहार र कोइरीहरू जातिहरूबाट किनमेल गर्ने चलन रहेको छ ।

न पुजारी न मन्त्र

न पुजारी, न कुनै मन्त्र । लोकगीतबाटै सुरु, लोकगीतबाटै समापन । लोकगीतकै जगमा सूर्य उपासनाको महापर्व छठको विधि एवं परम्परा अडेको छ ।  

‘ काँच हि बाँसके बहंगीया, बहंगी लचकत जाय, होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय’ अर्थात् काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पु¥याउन छठ माताले परिवारका पुरुषहरूलाई शक्ति दिऊन् र उनीहरू घाटमा पुगून् ।

छठका मैथिली,भोजपुरीलगायत भाषामा गाइएका प्रत्येक गीतले शुद्धता, सद्भाव र उपकारको भाव बोकेका छन् । ‘छठघाट सजिगेल, आइ हे अखिन छठ मैयाँ,’ ‘उग हे सुरज देव, भेल भिनसरवा...’, ‘छोटी मोटी डोमिन बिटिया के भुइयाँ लोट केस, सुपवा ले अइह हे डोमिन अर्घ के बेर,’ र ‘सब के अरधवा हो दीनानाथ लेल समुझाय, बाँझीन के अरधवा हो दीनानाथ, ठाढे रहिजाय,’ लगायतका गीत चर्चित छन् ।

मैथिली भाषाका सहप्राध्यापक झाका अनुसार यी लोकगीतले सामाजिक परिवर्तनको हकमा सांस्कृतिक आन्दोलनलाई जीवन्त राखेको छ । मधेसी समुदायमा बिहे, ऋतु, चाडबाड, खेतीपाती एवं सुखदुःखको अवसरमा लोकगीत गाउने चलन छ । लोकगायन भनेको छठको झनै सशक्त पक्ष भएका उनी बताउँछन् । यिनै कर्णप्रिय गीतमा छठ मनाउने उद्देश्य लुकेको हुन्छ । ‘गीतबाटै लोकलवजमा छठ भनिने सूर्यषष्ठीको अर्थ थाहा हुन्छ । सूर्यषष्ठीमा सूर्य र षष्ठी दुई शब्द छन् । सूर्यको पूजा गर्दा षष्ठीकी देवी अर्थात् छठमाताको पूजा हुन्छ, छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुन्छ ।’

प्रकाशित: १ मंसिर २०८० ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App