समाज

मलेसियामा ज्यान गुमाएको नौ वर्षपछि बीमा रकम प्रदान

खोटाङ – नौ वर्षअघि मेसिनमा च्यापिएर मलेसियामा ज्यान गुमाएका मृतक परिवारले बीमा बापतको रकम पाएका छन् । मलेसियाको ह्वेल्को इन्डष्ट्रि एसडिएन बिएचडी कम्पनीमा काम गर्नेक्रममा मेसिनमा पेलिएर २०६५ साल भदौमा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका खेमराज जोगीको परिवारले लामो समयपछि बीमा वापतको ५ लाख ८६ हजार रकम प्राप्त गरेका हुन् । कम्पनीबाट मृतकका बुवा रत्नबहादुर र आमा सितामायाँ जोगीको नाममा छुट्टाछुट्टै २ लाख ९३ हजारका दरले बीमा वापतको रकम प्राप्त भएको हो । लामो कसरतपछि मृतक परिवारलाई बीमा बापतको रकम उपलव्ध भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताईन् ।
मलेसियाबाट बीमा वापतको रकम पाउनका लागि जोगी परिवारले चार पटक एच फारम (बीमा बापतको रकम दाबी गर्नका लागि भर्नुपर्ने फारम) भरेर पठाएका थिए । काठमाण्डौं पुगेर दुई–दुई पटक एच फारम भर्दा पनि बीमावापतको रकम प्राप्त नभए पछि रत्नबहादुरले २०७० सालमा बीमाको रकम प्राप्तीका लागि सहयोग गर्न सुरक्षित आप्रवासन परियोजना समक्ष निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजीखोजी गर्दा परराष्ट्र मन्त्रालयमा जोगी परिवारले बीमा रकम पाउने विषयमा जानकारी नभएको जवाफ आएपछि पुन सुरक्षित आप्रवासन परियोजनाको सहयोगमा एच फारम भरेर पठाएर फलोअपको काम गरिएको परामर्शकर्ता दाहालले बताईन् । ‘बीमाका लागि पटक–पटक एच फारम भर्दा पनि रकम पाउनु भएको रहेनछ,’ दाहालले भनिन्, ‘निवेदन आएपछि सोधीखोजी गर्दा परराष्ट्र मन्त्रालय बेखबर रहेको पाएपछि पुन एच फारम भरेर बीमाका लागि पुन प्रकृया थालेका थियौँ ।’

 

प्रकाशित: २ पुस २०७४ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App