समाज

भारतीय र नेपाली समूह मिलेर गौचनको हत्या

निर्माण व्यवसायी शरद गौचनको हत्या अभियोगमा पक्राउ गरी प्रहरीद्वारा मंगलबार सार्वजनिक अभियुक्त । तस्बिर : नागरिक

काठमाडौं – भारतमा रहेका समिरमान बस्नेतले नेपाल र भारतका आपराधिक व्यक्ति परिचालन गरेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको छ । सामाखुसीका कुमार श्रेष्ठ (घैंटे) समूहमा रहेर उपत्यकामा आपराधिक गतिविधि गर्दै आएका बस्नेत २ वर्षअगाडि प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि भारत पलायन भएका थिए । उनले उतै बसेर नेपालमा सहयोगी परिचालन गराई ठेकेदारसँग पैसा उठाउन गौचनको हत्या गराएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

असोज २३ गते दिउँसो घरबाट निस्किएर अनामनगरमा रहेको कार्यालय जाने क्रममा गाडीभित्रै गोली हानेर गौचनको हत्या भएको थियो । हत्याको करिब एक महिनापछि प्रहरीले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । गौचन हत्याको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले डिआइजी गणेश केसीको संयोजकत्वमा गठन गरेको समितिले पक्राउ परेका एक भारतीय नागरिकसहित पाँचजनालाई मंगलबार सार्वजनिक गरेको छ । समितिले ‘ठेकेदारहरुसँग पैसा उठाएर बुझाउन दिएको चेतावनीअनुसार काम नगर्दा गौचन मारिएको’ निष्कर्ष पनि सार्वजनिक गरेको छ। 

महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दका अनुसार हत्या योजना निर्माणदेखि कार्यान्वयनसम्म १३ जनाको संलग्नता खुलेको छ । घटनामा फेला परेका २ वटा गोलीका खोकाको परीक्षणमा दुवै छुट्टाछुट्टै पेस्तोलको गोली भएको खुलेकाले हत्यामा २ जना सुटर प्रयोग भएको अनुसन्धानको निष्कर्ष छ । समितिका प्रमुख डिआइजी केसीका अनुसार घटनामा संलग्न पाँचजना पक्राउ परेका छन् भने घटनाका मुख्य योजनाकार देखिएका बस्नेतसहित ८ फरार छन् । मंगलबार प्रहरी क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरेर प्रहरीले नुवाकोट पञ्चकन्याका राजीव स्याङताङ, पर्साका शिवजी महतो, भारत विहार बेतियाका मुकेशकुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको थियो । प्रहरीको फरार सूचीमा बस्नेतसँगै मनोज पुन, लोप्साङ लामा, गंगा लिङदेन, श्यामबहादुर गुम्बे, अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा छन्।

प्रहरीले सार्वजनिक गरेको नेटवर्कमा मुख्य योजनाकारका रुपमा बस्नेत र पुनको नाम उल्लेख छ । बस्नेत र पुन दुवैले लोप्साङलाई समन्वयका लागि परिचालन गरेको देखिन्छ । लोप्साङ ती व्यक्ति हुन् जसले गौचनको हत्यालगत्तै प्रहरी र केही सञ्चारकर्मीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए । घटनापछि अन्य निर्माण व्यवसायीलाई धम्क्याउँदै पैसा माग्नेले समेत आफ्नो नाम लोप्साङ नै बताउने गरेका छन्।

लोप्साङले नेपालमा रहेका रोशन बुढाथोकी र श्यामबहादुर गुम्बेलाई योजनामा सहभागी गराएका थिए । गुम्बे २०७३ पुस ४ गते रुपन्देहीमा दुर्गा तिवारीको हत्या र गौरीघाटमा दावा लामालाई गोली हानेर हत्या प्रयास भएको घटनामा संलग्न सुटर भएको प्रहरीको निष्कर्ष छ । फरार रहेका सुटर राना र गौचनको दैनिकी पच्छ्याएर सूचना संकलन गर्ने एवं सुटरको होटल व्यवस्थापन गर्ने गगनसँग समेत बस्नेतको सम्पर्क देखिएको छ । रोशन बुढाथोकीले सुटर स्याङताङसहित मोटरसाइकल र होटलको बन्दोबस्त मिलाउने सन्तोष गुरुङ,  शिवजी महतो, प्रकाश बुढाथोकी र मुकेश पाण्डेलाई योजनामा सहभागी गराएका थिए।

समिरपछि भारतमा बस्दै आएका बस्नेतका आफन्त रोशन बुढाथोकीले गौचन हत्याको सबै प्रबन्ध मिलाएको खुलेको अनुसन्धानमा संलग्न स्रोतको दावी छ । घटनाको योजनाकार बस्नेत रहेको निष्कर्षमा पुग्न प्रहरीले रोशनको सम्पर्क जालोलाई प्रमुख आधार बनाएको देखियो । ‘सुटरको खोजी गर्नेदेखि लिएर मोटरसाइकल व्यवस्थापन, सुराकी परिचालन, घटना अगाडि र घटनापछि होटलमा बस्ने व्यवस्था उनैले गरेको खुलेको छ,’ अनुसन्धान स्रोतले भन्यो, ‘रोशनपछि प्रकाश बुढाथोकी र श्याम गुम्बेसँग मात्रै समिरमानको सम्पर्क हुने गरेको देखिन्छ।’

अनुसन्धान विवरण अस्पष्ट
मंगलबार प्रहरी क्लबमा भीडभाडका बीच प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरण तथ्यभन्दा बढी दाबीले भरिएको पाइयो । प्रहरीले सार्वजनिक गरेको हत्यामा संलग्नका अधिकांश नाम नयाँ थिए भने योजनाकारका रुपमा हत्यालगत्तै प्रहरीले दाबी गरेझैं बस्नेत र पुनको नाम उल्लेख थियो । सार्वजनिक भएका अधिकांश विवरण प्रस्ट छैनन् । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार घटनामा को –कसको संलग्नता र भूमिका हो भन्ने पाटोको विस्तृत अनुसन्धान अझै बाँकी छ। 

प्रहरीले केही अनुसन्धान गरेन भनेर आलोचना बढ्दै गएको र सुटर पक्राउको सूचना लुकाएर अनुसन्धान अगाडि बढाउन अप्ठ्यारो भएपछि मंगलबार पत्रकार सम्मेलन गरिएको हो । दुर्गा तिवारीको हत्या अभियोग लागेपछि भागेर भारत पुगेका मनोज पुनसँग मिलेर बस्नेतले हतियार चलाउन पोख्त नेपाली सेनाका भगौडा सिपाही गुम्बेको खोजी गरी गौचनको हत्या गर्न लगाएको प्रहरीको निष्कर्ष देखियो । यसका बलिया आधार प्रहरीले सार्वजनिक गरेको छैन।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार घटनामा संलग्नता भएको आरोपमा पक्राउ परेका सुटर स्याङताङसहितका पाँच आरोपीले बयानमा बस्नेतको नाम पोलेका छैनन् । समिति पक्राउ आरोपीले भारतमा गरेको सम्पर्कको विवरण, घटनामा प्रयोग भएको मोटरसाइकल बस्नेतका आफन्तको हुनु र पक्राउ परेकासँग बस्नेतका आफन्त रोशन बुढाथोकीको संलग्नतालाई आधार बनाएर गौचन हत्याको मुख्य योजनाकार बस्नेत रहेको निष्कर्षमा पुगेको हो। 

भारतमा रहेका बस्नेतका आफन्त रोशनले सुटरदेखि होटल व्यवस्थापनसम्मको नेतृत्व गरेको र पक्राउ परेकाले भारतमा सम्पर्क गर्न प्रयोग गरेको नम्बरका आधारमा समेत बस्नेत नै योजनाकार रहेको समितिका अधिकारीको निष्कर्ष देखियो । घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकलमध्ये एउटा भारतबाट चोरीको रहेको र १८ हजारमा किनेर त्यसमा बा ३५ प २४६१ नम्बरको नेपाली प्लेट राखेको विवरण सार्वजनिक गरे पनि बस्नेतका आफन्तको दावी गरिएको दोस्रो मोटरसाइकलको नम्बर सार्वजनिक गरिएको छैन । २ राउण्ड गोली २ वटा पेस्तोलबाट प्रहार भएको निष्कर्ष निकालिए पनि पेस्तोल बरामद भएको छैन । पक्राउ परेकामध्ये स्याङताङ पहिलो सुटर हुन् जसले गौचनलाई गोली हानेका थिए । 
घटनाको दिन प्रहरीले उपत्यकाका विभिन्न स्थानको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) बाट संकलन गरेको फुटेजमा स्याङताङले लगाएको टिसर्ट र पत्रकार सम्मेलनमा सार्वजनिक गर्दाको टिसर्ट एउटै थियो । त्यही टिसर्ट लगाएर हिँडिरहेको बेला उनी पक्राउ परेको अनुसन्धान समितिले दाबी गरे पनि कहाँ र कुन मितिमा पक्राउ परेको हो, गोप्य राखेको छ । पक्राउ परेका अन्य पाँचको ठेगाना सार्वजनिक भए पनि कहाँ र कुन मितिमा पक्राउ परेको भन्ने उल्लेख गरिएको छैन । स्याङताङलाई सार्वजनिक गर्दा उनको टिसर्ट बायाँ कुममा पूरै च्यातिएको थियो । स्याङताङ च्यातिएकै टिसर्ट लगाएर हिँडिरहेको बेला पक्राउ परेका थिए भन्ने जिज्ञासाको जबाफ समितिले दिएको छैन। 

महतोले घटनामा प्रयोग भएको हतियार र मोटरसाइकलको बन्दोबस्त गरेको समितिको दाबी छ । उनले घटनामा प्रयोग गर्ने योजनाअनुसार भारतको बेतियाबाट १८ हजार रुपैयाँमा चोरीको मोटरसाइकल किनेर नेपाल ल्याई त्यसमा बा ३५ प २४६१ नम्बरको नेपाली प्लेट राखेको प्रहरी विवरणमा उल्लेख छ । प्रहरीका अनुसार पक्राउ परेका सन्तोष गुरुङले मोटरसाइकल व्यवस्थापन गरेका थिए भने प्रकाश बुढाथोकी घटनाका सहयोगी हुन् । पक्राउ परेका शिवजी महतोले भारतको बेतियाबाटै ५५ हजारमा पेस्तोल किनेर ६५ हजारमा फरार रहेका श्याम गुम्बेलाई बिक्री गरेको प्रहरीको निष्कर्ष छ।

प्रहरी विवरणअनुसार फरारमध्ये गुम्बे र अम्बरबहादुर रानासमेत सुटर हुन् । यी दुवै नेपाली सेनाका भगौडा सिपाही हुन् । घटनामा मनोज पुनसमेत संलग्न रहेको खुलाइए पनि अहिलेसम्म उनको भूमिकाबारे नखुलेको अनुसन्धानमा संलग्न अधिकारीले बताए । समिर नेपालबाट भागेर भारत पुगेपछि पुनसँगै बसेको र तिवारी हत्यामा संलग्न देखिएका गुम्बे गौचन हत्यामा समेत संलग्न देखिएकाले उसको नाम उल्लेख गरिएको एक अधिकारीले बताए।

भारतमा योजना, सिनामंगलको होटलमा फाइनल
एसएसपी बस्नेतका अनुसार गौचन हत्याको योजना एक महिना अगाडि बनेको थियो । सोही योजनाअनुसार नेपालमा रहेका बस्नेतका सहयोगी परिचालित भएर उनको हत्या भयो । ‘निर्माण व्यवसायीसँग पैसा उठाएर बुझाउन’ दिएको निर्देशन नमानेपछि त्रास फैलाएर ठेकेदारसँग पैसा असुल्न गौचनको हत्या भएको  निष्कर्षमा प्रहरी पुगे पनि कति रकम माग भएको थियो, प्रहरीले खुलाउन सकेको छैन। 

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरु गौचन हत्याको एक महिनाअगाडि सिनामंगलमा आएर बसेको खुलेको छ । उनीहरु सिनामंगलमा रहेको धराने होटलमा बसेर गौचनको दैनिकी निगरानी गरेका थिए । भारतबाट पटकपटक फोन गरेर पैसा माग्दा समेत नदिएपछि सातजनाको टोली असोज २३ मा उनको घरवरिवरि छरिएर उनी घरबाट निस्कने समय कुरेर बसेको थियो । गौचन अनामनगरमा रहेको कार्यालय जान घरबाट निस्किएलगत्तै गोली हानेर उनीहरु फरार भएको प्रहरी निष्कर्ष छ।

सुटर पहिचान गर्न प्रहरीले घटनाको दिन उपत्यकाका विभिन्न स्थानको क्लोज सर्किट टेलिभिजनको फुटेज संकलन गरेर हेरेको थियो । जसमध्ये प्रहरीले घटना भएको बानेश्वर खरिबोटबाट सिनामंगल पुल, तारा हल रोड, सिनामंगल बिट, काठमाडौं मेडिकल कलेजअगाडिको सडक हुँदै तीनकुनेतिर गएको फुटेजलाई सार्वजनिक गरेको थियो।

फुटेजको प्रारम्भमा सुटर ज्याकेट र टोपीसहित देखिन्छ । सिनामंगल पुल नजिक आएपछि उसले टोपी र ज्याकेट फुकालेर फ्याँकेको देखिन्छ । त्यसपछि सुटर सेतो र कालो छिर्केमिर्के टिसर्टमा देखिन्छ जुन टिसर्ट मंगलबार सार्वजनिक गरिएका आरोपीमध्ये स्याङताङले लगाएका थिए।

 

 

प्रकाशित: २९ कार्तिक २०७४ ०२:०० बुधबार

भारतीय नेपाली समूह मिलेर गौचनको हत्या