समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

गेटामा अस्पताल सञ्चालन हुँदै

जनरल ओपीडी, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड, एक्स–रे, प्रयोगशाला र फार्मेसी सेवासहित कैलालीको गेटामा कात्तिक १ गतेबाट एक सय शैयाको अस्पताल सञ्चालन हुँदै छ। सुरुमा ११ जना विशेषज्ञसहित सेवा सुचारु हुने भएपनि वैशाखसम्म थप सात वटा विशेषज्ञ सेवा विस्तार गरिने अस्पताल प्रशासनको भनाइ छ।

‘भौगोलिक विकटताका आधारमा बजेट छुट्याउनु पर्छ’

जनसंख्याको आधारमा बजेट छुट्याउँदा कर्णालीलाई अन्याय भएको मुख्यमन्त्री राजकुमार शर्माको भनाइ छ। भौगोलिक विकटताका आधारमा संघीय सरकारले बजेट छुट्याउनु पर्ने उनको माग छ।

दसैं मनाउन घर फर्किदै

दसैं सुरु भएसँगै नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट रोजीरोटीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली धमाधम घर फर्किदै छन्। रोजगारीका लागि कति नेपाली भारत जान्छन् भन्ने यकिन तथ्यांक नभएपनि पछिल्लो समय दैनिक १५ हजारभन्दा बढी घर फर्किरहेको ईलाका प्रहरी कार्यालयको भनाइ।

पोखरामा प्याराग्लाइडिङको उडान पुनः तोरीपानीमै फर्कियो

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा असर पर्ने भन्दै नौ महिना अघि बन्द भएको प्याराग्लाईडिङको उडान पुनः तोरीपानीबाटै शुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को अध्ययनले प्याराग्लाईडिङले विमानस्थल सुरक्षामा कुनै असर नगर्ने देखिएपछि पुनः सोही स्थानबाट उडान भर्न दिने निर्णय गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईको भनाइ छ।

अलपत्र गौतमबुद्ध रङ्गशालामा लेउ जम्यो

दुई वर्षअघि धुर्मुस–सुन्तली फाउन्डेसनले अलपत्र छाडेको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिटो बनाउन स्थानीयले माग गरेका छन्। रङ्गशालाको निर्माण रोकिँदासम्म ९५ प्रतिशत मैदानको काम पूरा भएको फाउन्डेसनले जनाउँदा अहिले मैदानमा दूबो र झारपात मात्रै होइन लेउ समेत जमेको छ।  

पार्टी फेरेपछि मौलापुर नगर प्रमुख रिनासाह पदमुक्त

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार दिइ रौतहटको मौलापुर नगरपालिका प्रमुखमा निर्वाचित रिनाकुमारी साह पद मुक्त भएकी छिन्। आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेको उजुरीको आधारमा पदमुक्त गरेको निर्वाचन आयोगको भनाइ छ।

निर्यातको प्रोत्साहन रकम स्थानिय स्तरबाटै उपलब्ध गराउन माग

निर्यातमा पाउने प्रोत्साहन रकम (इन्सेन्टीभ) स्थानीय स्तरबाटै उपलब्ध गराउन मोरङका निर्यातकर्ताको माग छ। निर्यातमा इन्सेन्टीभ दिने सरकारको नीति राम्रो भएपनि झण्झटीलो प्रक्रियाका कारण निर्यातकर्ताहरूले लाभ लिन नसकेको मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीको भनाइ छ।

प्रकाशित: ३० आश्विन २०८० १३:२९ मंगलबार

सात प्रदेशका सात समाचार