समाज

हात्तीले आतंकले किसान चिन्तित

रौतहटको उत्तरी क्षेत्रमा केही दिनदेखि जंगली हात्तीले आतंक मच्चाउन थालेको छ। चन्द्रपुर नगरपालिकाका केही वडाहरुमा वनबाट समूहमा आएका हात्तीहरुले बालीनालीमा क्षति पुर्‍याउँदा किसानहरु चिन्तित बनेका छन्।

हात्तीले आतंकले चन्द्रपुर नगरपालिका-२ नयाँ बस्तीका आशबहादुर पाख्रिनको घरमा क्षति पुगेकाे छ। पाख्रिन सुतेको घरमा हात्तीले क्षति पुर्‍याएपछि पाख्रिनले गुहार मागेका थिए। त्यस पछि राति नै स्थानीयले होहल्ला गरे। होहल्ला पछि हात्तीको समूह नयाँ बस्तीबाट नर्सरी हुँदै जंगलतर्फ भागेको स्थानीय बताउँछन्।

जंगलबाट आएको हात्तीको समूहले धान खेतीमा समेत क्षति पुर्‍याएको छ। चन्द्रपुर-२ को रैयाटोलमा केराखेती र धानखेती क्षतिग्रस्त भएको छ। यसै गरी वडा नम्बर-४ र ३ का किसानहरुले लगाएको धान तथा केराबालीमा हात्तीले क्षति पुर्‍याएको स्थानीय बोधनाथ देवकोटाले जानकारी दिए।

मिहिनेत र लगानी गरेर उब्जाएको धान बालीलाई हात्तीले बर्बाद पार्ने चिन्ता यती बेला किसानहरुमा छाएको छ।

प्रकाशित: २१ आश्विन २०८० १४:०२ आइतबार