समाज

माछाको ‘भुरा’ उत्पादन कम, माग बढी

बाँकेको सम्शेरगन्जमा रहेको मत्स्य विकास केन्द्र। तस्बिर: अर्जुन ओली/नागरिक

बाँकेको सम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक रुपमा झण्डै ३ करोड माछाका ‘भुरा’ किसानलाई वितरण गर्छ। तर पनि, किसानले माग अनुसार भुरा पाउँदैनन्। केन्द्रले पर्याप्त मात्रामा भुरा उत्पादन गर्न नसक्नु नै यसको मुख्य कारण भएको कर्मचारी बताउँछन्।

केन्द्रको कुल क्षेत्रफल ५ विघा १० कठ्ठा मध्ये साढे ३ विघामा मात्र पोखरी निर्माण गरिएको छ। ‘फर्मको क्षेत्रफल सानो छ, सानो क्षेत्रमा पोखरीको संख्या पनि कम छ,’ केन्द्रका प्रमुख महेन्द्रप्रसाद यादवले नागरिकसँग भने ‘किसानले भुराको माग धेरै गर्छन्, तर उनीहरुले मागेको अनुसार पुर्याउनै सकिन्न।’

उनका अनुसार अहिले भुरा उत्पादनका लागि केन्द्रसँग २३ वटा पोखरी रहेको छ। किसानलाई मागेजति भुरा उपलब्ध गराउन कम्तिमा पनि केन्द्रको क्षेत्रफल ९ विघा हुनुपर्ने यादवले बताए।

केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा माछाको ‘ह्याचलिङ’ भुरा २ करोड ५०, ‘फ्राई’ भुरा २२ लाख, ‘फिंगरलिङ्ग’ भुरा १५ लाख र एड्भान्स ‘फिंगरलिङ्ग’ ६ क्वीन्टल किसानलाई बिक्री गरिएको थियो। त्यसवापत केन्द्रले २८ लाख रुपैयाँ राजश्व प्राप्त गरेको थियो।

लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमी ब्यवस्था मन्त्रालय अन्र्तगत रहेको उक्त केन्द्रले ‘कार्प’ प्रजातीका माछाका भुरा उत्पादन गर्दै आएको छ। केन्द्रले गर्मी सहन सक्ने माछाका भुरा कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, बिगहेट कार्प, रोहु, नैनी र भाकुर प्रजातीका माछाका भुरा उत्पादन गर्ने गरेको प्रमुख यादवले जानकारी दिए।  

‘तराईको परिवेश अर्थात तातो पानीमा हुर्कन सक्ने माछाका भुरा हामी उत्पादन गरिरहेका छौं, साथै किसानलाई गुणस्तरीय मत्स्य ‘बीज’(भुरा) उपलब्ध गराउने, किसानलाई प्रविधि हस्तान्तरण गर्ने, तालिम दिने, सिप उपलब्ध गराउने, तालिम दिने काम पनि गर्छौ,’ उनले थपे।

केन्द्रले बाँके, बर्दिया, दाङ, सल्यान, प्युठान, रोल्पा, रुकुम, सुर्खेत, दैलेखका किसानलाई भुरा उपलब्ध गराइरहेको मत्स्य विकास अधिकृत यादवले जानकारी दिए। उनका अनुसार माघदेखी चैत महिनासम्म कमनकार्प, चैतदेखी बैशाखसम्म ग्रासकार्प, जेठदेखी असारसम्म सिल्भर, बिगहेड र भाकुर तथा असार र साउन महिनामा रोहु, नैनी र भाकुर माछाको भुरा उत्पादन सुरु गरिन्छ। मत्स्य प्राविधिकका अनुसार अण्डाबाट निस्केको ६ देखी ७ दिनको भुरालाई ‘ह्याचलिङ्ग’, १५ देखी २५ दिन सम्मलाई फ्राई, २५ देखी ४५ दिन सम्मलाई ‘फिंगर’, ४५ देखी ६० दिन सम्मलाई ‘एडभान्स फिंगर’ र ६० दिनदेखी माथीलाई ‘ईयर लिंक’ भनिन्छ।  

केन्द्रले अहिले रोहु र नैनी प्रजातीको माछाको भुरा हुर्काईरहेको केन्द्रमा कार्यरत कर्मचारी चन्द्रमणि अधिकारीले बताए।

‘फर्मको क्षेत्रफल थोरै भयो, अहिले हामीसँग साना ठूला गरेर २३ वटा मात्रै पोखरी छन्, यदी पर्याप्त मात्रामा पोखरी भएको भए किसानले माग गरे अनुसार भुरा वितरण हुन्थ्यो,’ उनले भने। मत्स्य विकास केन्द्रबाट १० दिने तालिम लिएर माछा पालन गरिरहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कटेलियाका रेशम खत्रीले राम्रो आम्दानी गरिरहेका छन्। माछा पालनमा राम्रो सम्भावना भएपनि सरकारले किसानलाई माग अनुसार भुरा पुर्याउन नसकेको उनी बताउँछन्।

‘मैले मत्स्य विकास केन्द्रबाट ल्याएर पोखरीमा भुरा राख्छु, तर सरकारले न किसानलाई पर्याप्त मात्रामा भुरा दिन सकेको छ, न त दाना र भुरामा कुनै सहुलियत दिएको छ,’ खत्री पशुपंक्षी तथा कृषि फर्मका सञ्चालक रेशमले भने। किसानले माग अनुसार माछाका भुरा पाउन नसकेको उनी बताउँछन्।

प्रकाशित: १५ आश्विन २०८० १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App