समाज

१ लाख ६४ हजार सहित ८ जुवाडे पक्राउ

धनगढी- प्रहरीले धनगढीमा जुवाको खालवाट १ लाख ६४ हजार नगद सहित ८ जना जुवोडेलाई समातेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर तीर्थराज पन्तको घरमा जुवा खेलीरहेका अवस्थाबाट पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले बताए। पक्राउ परेका व्यक्तीको नाम प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले यस अघि पनि धनगढी हसनपुर प्रकाश भाटको घरवाट ८४ हजार नगद सहित ११ जनालाई पक्राउ गरेको थियो । प्रहरीले यस अघि पक्राउ गरेका ११ जनालाई पेशेवर जुवाडे नभएको भन्दै मुद्दा नलगाई रिहा गरेको थियो ।

बाह्रै महिना जुवा खेलाइने ठाउँमा प्रहरीले छापा नमार्ने र छापा मार्नुपरे पनि सूचना दिएर छापा मार्ने गरेको सर्वसधारणको आरोप छ। दशै तिहारका बेला घरमा रमाइलो गर्नेलाई मात्र प्रहरीले समात्ने गरेको स्थानीय बताउँछन। प्रहरीकै संरक्षणमा जुवातास भइरहेको समाचार छापिएपछि भने कैलालीका कडाई गरिएको छ । कैलालीका प्रहरी उपरीक्षक जनक राज पाण्डेयले वाह्रौ महिना पेशेवर रुपमा खेल्ने सवै ठाउँमा कडाई गरेर बन्द गरेको बताएका छन्। ‘पेशेवर रुपमा खेल्ने ठाउँमा मैले कडाई गरेको छु’उनले भने । १०, १५ जनाको एक मोवाइल समूह बिभिन्न ठाउँमा गएर खेल्ने गरेको सूचना पाएको उनले बताए। सीमा नाका तिकुनियाको जंगलमा , बर्दियाको जंगलमा गाडी रोकेर गाडी भित्रै ठूलो जुवा खेल्ने गरेको उनले बताए। ‘गाडी रोकेर गाडी भित्रै २, ३ घण्टाको ठूलो जुवा खेल्ने गरेका छन’उनले भने, ‘मैले यो समूहलाई टार्गेट बनाएको छु।’ बिभिन्न ठाउँमा प्रहरीकै संरक्षणमा जुवा खेलाइएको बिषयमा छानविन गर्न इन्सेपेक्टरको नेतृ्त्वमा बनाएको छानविन समितीले प्रतिबेदन बुझाउन वाँकी रहेको उनले बताए। दशै तिहारको अवसरमा आफ्नै घरभित्र खेल्नेलाई भने प्रहरीले पक्राउ नगरेको उनले बताए । ‘घरभित्र रमाइलोका लागी खेल्दा पनि घरवाट अवाज निस्केर छिमेकीलाई डिस्टर्व हुनु भएन’उनले भने, ‘कम्पाउन्ड सम्म अवाज आउनु भएन।’

 

प्रकाशित: २९ आश्विन २०७४ १२:३८ आइतबार

६४ सहित जुवाडे पक्राउ