समाज

ताप्लेजुङमा करिव १८९ हेक्टर वन क्षेत्र अतिक्रमित

ताप्लेजुङको करिव १ सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार संस्थागत तथा व्यक्तिगत रुपले १८९.६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो।

डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख बद्रीप्रसाद शाहका अनुसार वन र आवादी जोडिएको सीमानामा बढी मात्रामा वन अतिक्रमण भएको छ। डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा ९७ हजार ६ सय ११.३६ हेक्टर वन क्षेत्र रहेको छ। त्यसमध्ये १३ हजार १ सय ६८.९२ हेक्टर वन क्षेत्र प्रस्तावित तिनजुरे–मिल्के–जलजले गुराँस संरक्षण क्षेत्रमा पर्छ भने सामुदायिक वन भित्र ९ हजार ७ सय ३७.८५ हेक्टर क्षेत्र पर्छ। डिभिजन वन कार्यालयले प्रकाशित गरेको वार्षिक कार्यक्रम सहितको प्रगति पुस्तिका अनुसार फुङलिङ नगरपालिकाको वडा नं १० र ११ को पाथीभरा क्षेत्रमा व्यक्ति र संस्थाद्धारा २५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ।

यस्तै मिक्वाखोला गाउँपालिका वडा नं ५ को तोक्पेगोला क्षेत्रमा व्यपारिक केन्द्र बनाउन स्थानीयद्धारा ३ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। मेरिङदेन गाउँपालिकाको वडा नं २ स्थित गुँरासेपोखरी क्षेत्रमा पोखरी घेराबारा तथा होमस्टे निर्माणका क्रममा ०.५ हेक्टर र मैवाखोला गाउँपालिका वडा नं ४ र ५ को तिनजुरे–मिल्के–जलजले(टिएमजे)क्षेत्रमा भ्यूटावर लगायतका संरचना निर्माण तथा स्थानीयद्धारा आवास निर्माणका क्रममा ५२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ। ९ वटै स्थानीय तहमा पसल,व्यवसाय,गोठ आदि कार्यका लागि १ सय ५.५ हेक्टर र सिदिङ्वा गाउँपालिका वडा नं १ स्थित तिम्बुङपोखरी क्षेत्रमा स्थानीयद्धारा होमस्टे तथा आवास निर्माणका क्रममा २ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९।८० देखि यताको अवधिमा भने थप वन क्षेत्र अतिक्रमणमा परेको छैन। वन अतिक्रमण रोक्न र थप अतिक्रमण हुनबाट बचाउन डिभिजन वन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन गर्ने योजना बनाएको बताएको छ। सडक नजिकको वन क्षेत्रको हकमा डिभिजन वन कार्यालयको संयोजनमा जिल्ला वन क्षेत्र समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,स्थानीय वन समूह र वन कर्मचारीको संयुक्त प्रयासमा जोड दिने तयारी रहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शाहले जानकारी दिए। 

प्रकाशित: १२ आश्विन २०८० १३:१७ शुक्रबार

वन क्षेत्र