समाज

बाल सुधारगृहमा दोहोरिँदै झडपका घटना

फाइल तस्वीर

हालै देशका विभिन्न जिल्लाका बालसुधार गृहमा रहेका बालकहरूबीच झडप भएका घटना सार्वजनिक भएका छन्। बाल सुधार गृहमा राखिएका बालकबीच झडप मात्र नभई दुईजनाको मृत्युसमेत भइसकेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले बाल सुधार गृहमा देखिएको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अनुगमन सुरु गरेको छ। हालै भक्तपुर, बाँके, पर्सा लगायतका जिल्लास्थित बाल सुधार गृहमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप भएका छन्। यी घटनाबारे आयोगले अनुमगन थालेको हो।

मुलुकभर बाल बिज्याइँमा परेका बालबालिका राख्नका लागि आठवटा बाल सुधार गृह रहेका छन्। मोरङ, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रूपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बाल सुधार गृहको अवस्था अनुगमन गर्न लागेको मानव अधिकार आयोगले जनाएको छ।

आयोगले अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयलाई पत्राचार गरेको हो। भक्तपुरको मध्यपुरस्थित बाल सुधार गृहमा भएको घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गर्न मानव अधिकार आययोगको केन्द्रीय कार्यालयबाट टोली मंगलबारदेखि नै खटिइसकेको जनाइएको छ।

त्यसैगरी, लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जको टोलीले बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा भएको घटनाको निरन्तर अनुगमन गरिरहेको आयोगको दाबी छ।  

भक्तपुरको मध्यपुरस्थित बाल सुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा २०८० भदौ ३ मा मृत्यु भएको थियो। बस्नेतको मृत्युको विषयलाई लिएर बाल सुधार गृहका बालकहरूले ढुंगामुढा तथा तोडफोड गरी सुधार गृहबाटै भागेका थिए।

त्यसैगरी, बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा केही दिनअघि दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका रूपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको थियो। त्यहाँ भएको झडपमा १० जना घाइते भएका थिए। पर्सा, कास्कीमा रहेको बाल सुधार गृहमा समेत समस्या देखिएका छन्।

प्रकाशित: १० आश्विन २०८० ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App