समाज

एमाले अध्यक्ष ओलीद्वारा ‘स्पाइनल नेत्र प्रतिष्ठान’ उद्घाटन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘दिपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’ को उद्घाटन गरेका छन्। यही कार्यक्रममा सामाजिक अभियन्ता तथा लेखक दीपेन्द्रराज गिरीका तीन कृती ‘बिधाता–२’, ‘बिधाता–३’ र ‘बिधाता–४’ पनि विमोचन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि ओलीले शारीरिक रूपमा अशक्त भएर पनि निरन्तर आफ्नो कर्ममा लागेको भन्दै गिरीको प्रशंसा गरेका थिए। ‘शारीरिक रूपमा मजबुत भएकाहरू काम गर्न अल्छी मान्छन्, तर कठिन शारीरिक अवस्थाबीच उहाँको लगनशीलताले सबैलाई पाठ सिकाएको छ,’ उनले भने। झण्डै दुई दशकदेखि स्पाइनल इन्जुरीका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका गिरी निरन्तर लेखन र सामाजिक अभियानमा छन्।

गिरीद्वारा लिखित पुस्तकहरु पठनीय, ज्ञानवद्र्धक र जानकारीमूलक हुने उल्लेख गर्दै अध्यक्ष ओलीले ती पुस्तकमा राजनीतिक, सामाजिक दस्तावेज संग्रहित हुने गरेको बताए।  

उनले अभियन्ता गिरीले आफूजस्तो स्पाइनल समस्या भोगिरहेकाहरूलाई सहयोग गरिरहेको उल्लेख गर्दै धन्यवाद पनि दिएका थिए। ‘गिरीजीले प्रष्ठिाननै खोलेर आफूजस्तो शारीरिक अशक्तता भएकाहरूको जीवन सहज बनाउन जुन प्रयत्न थाल्नुभएको छ त्यो एकदमै प्रशंसनीय छ,’ अध्यक्ष ओलीले भने।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले गिरीजस्ता पात्रलाई उत्साहित र उर्जाशिल बनाइरहन सबैले सहयोग गर्नुपर्ने बताए। ‘नेपाली राजनीतिक, सामाजिक परिघटनामा गिरीले गरेका टिप्पणी दूरदर्शी सावित भएका छन्, उनका पुस्तकमा उल्लेख घटनाक्रमले त्यसको पुष्टि गर्छ,’ उनले भने।

प्रकाशित: ८ आश्विन २०८० ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App