समाज

सामा गाउँमा बन्यो गुम्बा

तिब्बतसँग सीमा जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ को अन्तिम गाउँ सामागाउँमा १० वर्ष लगाएर गुम्बा निर्माण गरिएको छ। पेमा देजोलिङ फाउन्डेसन ताइवान र पेमा देजोलिङ फाउन्डेसन मलेसियाको आर्थिक सहयोेगमा गुम्बा निर्माण गरिएको हो।

२०७९ कात्तिकमा सम्पन्न सो गुम्बाको हालै उद्घाटन गरिएको छ। गुम्बाको निर्माण थालनी २०६९ सालमा गरिएको थियो। लामागुरु धिल्को छेच्जेको औतारीले धार्मिक समारोह गरी उद्घाटन गरेको फाउन्डेसन नेपालका उपाध्यक्ष खेम्पो कर्मा उर्गेनले जानकारी दिए।

उनका अनुसार भूकम्प र कोरोनाका कारण तीन वर्षजति गुम्बा निर्माण कार्य रोकिएको थियो। ‘निर्माण कार्य भूकम्पअघि नै सुरु भएको हो, भूकम्पपछि एक÷डेढ वर्ष काम रोकियो’, उनले भने, ‘पछि कोरोना महामारी आयो। त्यसबेला पनि एक÷डेढ वर्ष काम रोकिएर ढिलाइ भयो।’

 पेमा देजोलिङ फाउन्डेसनको सहयोगमा गुम्बा निर्माण भएकाले फाउन्डेसनकै नामबाट गुम्बा नामकरण गरिएको उनको भनाइ छ।

सो गुम्बा ज्येष्ठ नागरिकका लागि आश्रम तथा धर्मगुरु लामाहरूलाई ध्यान गर्न निर्माण गरिएको फाउन्डेसनका उपाध्यक्ष उर्गेनले जानकारी दिए। ‘बुढाबुढी भएपछि धर्मकर्ममा रुचि हुने र छोराछोरी नभएकालाई बस्न मिल्ने गरी गुम्बा बनाइएको हो’, उनले भने, ‘उहाँहरूले ध्यान गर्दा हाम्रो संस्कृतिको पनि संरक्षण हुने अपेक्षा छ।’

गुम्बामा बस्न आउने बुढाबुढी तथा धर्मगुरुका लागि बसोवास तथा स्वास्थ्य परीक्षणको पनि व्यवस्था गरिएको उनले बताए। अर्को वर्षदेखि बुढाबुढीलाई बसोवास व्यवस्था मिलाइने फाउन्डेसनले जनाएको छ। गाउँपालिका अध्यक्ष निमा लामाको अध्यक्षतामा गुम्बा उद्घाटन गरिएको थियो।

प्रकाशित: २५ भाद्र २०८० ०२:२६ सोमबार

सामा गाउँमा बन्यो गुम्बा पेमा देजोलिङ फाउन्डेसनको सहयोग