समाज

भारत पुगेको गैंडाको खोजी

चितवन- साउनको अन्तिममा आएको अविरल वर्षापछिको बाढीमा बगेर भारत पुगेका गैंडाको खोजी अझै जारी रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका अधिकारीले अहिलेसम्म तीनवटा बच्चा र पाँच वयस्क पोथीसहित आठवटा गैंडाको उद्धार गरेर चितवन ल्याएका छन् । तर, भारतीय भूमिमा नै अझै केही गैंडा रहेको आशंकामा खोजी जारी छ ।

निकुञ्जको सूचना अधिकारीसमेत रहेका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालको नेतृत्वमा चिकित्सक तथा प्राविधिकको टोली साउन ३१ गतेदेखि नै भारतीय क्षेत्रमा खटेको छ । ‘नेपाली भूमिबाट एक र भारतीय भूमिबाट सातवटा गरेर बाढीमा बगेका आठवटा गैंडा उद्धार गरेर चितवन पठाए पनि केही गैंडा अझै यता देखिने गरेका छन्,’ गैंडाको खोजीमा जुटिरहेका अर्यालले भने ।

भारत बिहारको संरक्षित क्षेत्र वाल्मीकि टाइगर रिजर्भ वरपर गैंडा देखिँदै आएका थिए । चितवन निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार भारतको उत्तरप्रदेश राज्यअन्र्तगतको गाउँमा पनि गैंडा देखिएको छ । भारतको पिप्रासी गाउँको उखुबारी नजिक ४० वर्षको एकजना व्यक्तिलाई गैंडाले आक्रमण गरेको भन्ने खबर आएको अर्यालले बताए ।

सो गाउँमा गए पनि टोलीले गैंडा भेटाउन सकेन । नेपाली सीमानाभन्दा ३० किलोमिटर दक्षिणमा सो गाउँ रहेको छ । सोही क्षेत्रमा एउटा मरेको गैंडा भेटिएको भन्ने खबर आए पनि आधिकारिक रूपमा पुष्टि हुन नसकेको अर्यालले बताए । मरेको गैंडाको खागसमेत नभएको गाउँलेले टोलीलाई जानकारी दिएका छन् । यस विषयमा थप बुझ्ने काम भइरहेको अर्यालले बताए ।

भारतीय गाउँ प्रिप्रासीभन्दा पारीको नेपाली गाउँ नवलपरासीको कठौनामा पनि गैंडा भेटिएको भन्ने सूचना आएका कारण आपूmहरू त्यसक्षेत्रमा गएको अर्यालले जानकारी दिए । भारतीय गाउँबाट गैंडा नेपालतर्फ सरेको हुनसक्ने उनको अनुमान छ । नवलपरासीको त्रिवेणीमा नारायणी नदीमा ठूलो बाँध छ । त्रिवेणी नजिक भारतको वाल्मीकि टाइगर रिजर्भ छ ।

चितवन निकुञ्ज हुँदै राप्ती तथा नारायणी जस्ता ठूला नदी बग्दछन् । साउनको अन्तिममा परेको वर्षासँगै आएको बाढीका कारण जंगलमा रहेका गैंडा बगेर त्रिवेणीको बाँधभन्दा पनि तल पुगेका थिए । नेपाली सीमानाभन्दा ४२ किलो मिटरभित्र भारतको बगाहा पुगेको एउटा गैंडालाई पहिलोपटक भदौ १ गते उद्धार गरेर सौराहा ल्याई चितवन निकुञ्जको जंगलमा छाडिएको थियो ।

त्यसयता शनिबार मात्रै भारतीय क्षेत्रबाट उद्धार गरेको गैंडा ल्याएर सौराहामा छाडिएको थियो । आठवटा गैंडाको उद्धार भए पनि बगेका अझै दुईवटा गैंडा त्रिवेणी क्षेत्रमा छन् । त्यसमध्ये एउटाको उद्धार गर्नै पर्ने अवस्था रहेको अर्यालले बताए ।

‘एउटा भारत नेपालको गाउँ वरपर गर्ने गरेको पत्ता लागेको छ । एउटा नेपालकै त्रिवेणी नजिकको केउलेनी मध्यवर्ती सामुदायिक वनमा छ । सो सामुदायिक वन निकुञ्जको जंगलसँग जोडिएका कारण त्यहाँको गैंडालाई उद्धार गर्न नपर्ला,’ सहायक संरक्षण अधिकृत अर्यालले भने । चितवन निकुञ्ज गैंडाको मुख्य वासस्थल हो । नेपालभर छ सय ४५ गैंडा रहेकोमा चितवन निकुञ्जमा मात्रै छ सय छ वटा गैंडा छन् ।

गैंडा विज्ञ नरेश सुवेदीका अनुसार बाढीमा बगे पनि गैंडा पौडिन जानेका कारण बच्ने सम्भावना प्रवल रहन्छ । तर बग्दै मानव बस्ती वा नौलो बासस्थलमा पुग्ने भएका कारण उनीहरूलाई उद्धार गरेर सुरक्षित बासस्थलमा ल्याउन आवश्यक भएको हो । बस्तीमा पुगेका गैंडाले मान्छेमाथि आक्रमण गर्ने डर हुन्छ । त्रसित गाउँले वा खागको कारोबार गर्ने अवैध सिकारीहरूले पनि गैंडालाई मार्ने खतरा रहन्छ ।

त्यसैले बगेका गैंडा सुरक्षित वासस्थलमा ल्याउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नै अग्रसर भएर भारतीय पक्षसँग समन्वय गरी उद्धार सुरु गरेको अर्यालले बताए ।

प्रकाशित: २० भाद्र २०७४ ०४:१७ मंगलबार

भारत पुगेको गैंडाको खोजी