समाज

गणेश थापामगरलाई सहयोग अपिल

राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील गणेश थापामगरको जीवन रक्षाका लागि सहयोग अपिल गरिएको छ। थापा मगरको उपचारका लागि झन्डै १ करोड रूपैयाँभन्दा बढी खर्च लाग्ने भएकाले सहयोगको अपिल गरिएको हो।  

नेकपा (एमाले) बागलुङका उपसचिव एवं बागलुङ नगरपालिका ९ का पूर्व वडाध्यक्षसमेत रहेका थापामगरको स्पाइनल कर्ड र रिब्समा कोन्ड्रियोसार्कोमाको दोस्रो स्टेजको संक्रमण भएकाले उपचारमा ठुलो धनराशि लाग्ने भएको हो। गणेश थापामगर उपचार सहयोग समिति बागलुङले बिहीबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उनको उपचारमा सहयोग गर्न देशविदेशमा रहेका संघसंस्था र नेपाली दाजुभाइ तथा दिदी बहिनीमा अनुरोध गरेको छ।  

एक वर्षअघि नै काठमाडौंको न्युरो अस्पतालमा स्पाइनल कर्डमा र दुईवटा रिब्समा भएको ट्युमरको शल्यक्रिया गरे पनि स्वास्थ्यमा सुधार नआएपछि थापा भारतको दिल्लीस्थित राजीवगान्धी क्यान्सर इन्स्टिच्युट तथा रिसर्च सेन्टर गएका थिए। त्यहाँ परीक्षण गराउँदा रोग जटिल अवस्थामा पुग्न लागेको र प्रोटोन थेरापी गर्नुपर्ने र चेन्नईको एपोलो प्रोटोन क्यान्सर सेन्टरमा मात्र त्यो सम्भव भएको भनेर रेफर गरिएको थियो। उक्त प्रोटोन थेरापीका लागि मात्रै भारु ५० लाख नेपाली झन्डै ८० लाख रूपैयाँ खर्च लाग्ने र आवतजावत र अन्य औषधि उपचारका लागि एक करोडभन्दा बढी खर्च लाग्ने भएकाले सहयोगको अपिल गर्न बाध्य भएको बताइएको छ।  

थापामगरको उपचारमा सहयोग गर्न चाहनेले उनकी पत्नी गीता थापामगरको नाममा रहेको ग्लोबल आईएमई बैंक बागलुङ शाखाको खाता नम्बर ०१२०७०१०२०७४८५ मा सहयोग रकम जम्मा गर्न सक्नेछन्। 

प्रकाशित: २२ भाद्र २०८० ०२:३९ शुक्रबार

गणेश थापामगरलाई सहयोग अपिल