समाज

साझा प्रकाशनका अध्यक्ष शर्मासहित चार सदस्यद्वारा राजीनामा

राजिनामा दिएका साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा

वसन्त खड्का/विष्णु अर्याल

काठमाडौं— साझा प्रकाशनको अनियमिमतामा मुछिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहित चार जना मनोनित सदस्यले शिक्षा मन्त्रीसमक्ष राजिनामा बुझाएका छन्। साझामा भएको  अनियमितता छानबिनका लागि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यक्ष शर्मासहित सञ्चालक समितिलाई हटाउन सिफारिस गरेपछि अध्यक्ष शर्मासहित मनोनित सदस्यहर दीनानाथ शर्मा, प्रदीप नेपाल र कृष्णहरी बरालले  राजिनामा दिएका हुन्। सात सदस्यीय साझा सञ्चालन समतिमा निर्वाचित सदस्यका रुपमा पूर्व सभासद विजय सुब्बा, हरिहर खनाल तथा जिवनचन्द्र कोइराला रहेका छन्।

साझामा भएको अनियमितता बारेमा नागरिक दैनिक तथा रिपब्लिका दैनिकले निरन्तर समाचार प्रकाशित गरेपछि मन्त्रालयले  अनुगमन उप–सचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते छानबिन समित गठन गरेको थियो।

साझामा भएको अनियमितता बारेमा नागरिक दैनिक तथा रिपब्लिका दैनिकले निरन्तर समाचार प्रकाशित गरेपछि मन्त्रालयले  अनुगमन उप–सचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते छानबिन समित गठन गरेको थियो । साझामा भएको अनियमितता बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा संसदको सार्वजनिक लेखा समितिमा समेत छानबिन भइरहेका बेला अध्यक्ष शर्मा सहितका सञ्चालक सदस्यले राजीनामा दिएका हुन्।

 ‘हामीले एक साता पहिले राजीनामा बुझाएका हौँ, स्वीकृत भए नभएको बारेमा कुनै सूचना आएको छैन,’ सञ्चालक समिति सदस्य प्रदीप नेपालले नागरिकसँग भने । आफूहरुलाई शिक्षा मन्त्रीले नियुक्त गरेकाले राजीनामा पनि शिक्षा मन्त्रीलाई नै दिएको नेपालले जानकारी दिए । ‘हामीलाई शिक्षा मन्त्रीले नियुक्त गरेकाले राजीनामा पनि मन्त्रीलाई नै बुझाएका हौँ,’ उनले भने । आफूहरुले अध्यक्ष शर्मालाई राजिनामा बुझाएको र अध्यक्ष शर्मामार्फत मन्त्रालयमा राजिनामा बुझाईसकिएको उनले जानकारी दिए ।  आफूहरुले सञ्चालक समितिबाट राजिनामा दिएको अर्का सदस्य कृष्णहरी बरालले पनि स्वीकार गरे । ‘अन्य सदस्यहरुले राजिनामा दिउँ भनेपछि मैले पनि राजिनामा गरेको हुँ,’ बरालले भने। राजिनामा दिएको विषयमा अध्यक्ष शर्मासँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।

साझा सञ्चालक समितिले दिएको राजिनामाबारे उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठसँग जिज्ञासा राख्दा उनले राजिनामा मन्त्रालयमा आएको भन्ने सुनेपनि आफ्नो हात नपरेको बताए । ‘राजीनामा पत्र मन्त्रालयमा आएको छ भन्ने सुनेको छु तर मेरो हात परेको छैन’ उनले भने। मन्त्रालय स्रोतले भने साझा सञ्चालक समिति सदस्यले राजिनामा दिएपनि मन्त्री श्रेष्ठ राजिनामा स्वीकृत नगर्ने पक्षमा रहेको जनाएको छ। मन्त्री श्रेष्ठसँग आफैले गठन गरेको छानबिन समितिको रिपोर्ट किन कार्यान्वयन नगरेको भन्ने जिज्ञासामा उनको जवाफ थियो, ‘त्यो रिपोर्ट अख्तियार र लेखा समितिलाई बुझाउनका लागि तयार पारिएको हो, कारबाहीका लागि होइन।’ 

छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेपछि साझाका अध्यक्ष शर्माले  पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवसहित मन्त्री श्रेष्ठलाई भेटेर कारबाही अघि नबढाउन आग्रह गरेका थिए। त्यसपछि मन्त्री श्रेष्ठले साझाको कारबाही अघि बढाउन आलटान गरिरहेका हुन् । तत्कालीन शिक्षामन्त्री यादवबाट २०७१ माघ ५  मा महाप्रबन्धक  तथा २०७२ साउन १० गते अध्यक्षमा नियुक्ति पाएका शर्माले दुईवर्षे कार्यकाल पूरा गरी २०७३ पुसमा पुनः तत्कालीन माओवादी केन्द्रको कोटामा शिक्षा मन्त्री बनेका धनिराम पौडेलबाट चार वर्षका लागि दुवै पदमा नियुक्ति पाएका थिए। पूर्व शिक्षामन्त्री यादवमाथि ३० लाख रुपमैयाँ लिएर शर्मालाई साझाको महाप्रबन्धक तथा अध्यक्षमा नियुक्त गरेको आरोप लाग्ने गरेको छ।

शर्माले साझाको जिम्मेवारी सम्हाले यता विवादीत काम गर्दै आएका छन् । उनीमाथि  सरकारले उपलब्ध गराएको सहयोगको दुरुपयोग गरेको, आफ्नो पहिलो कार्यकालभरी नै लेखा परिक्षण नगराएको, राजनीतिक दलका नेता निकट व्यक्ति तथा पत्रकार र उनीहरुका आफन्तलाई समेत जागिर लगाएको, वार्षिक आम्दानी, खर्च तथा पुस्तक प्रकाशनको विवरण चुस्त नगरेको, नक्कली कागजात बनाएको, साझाको लोगो दुरुपयोग गरेर अवैध रुपमा पुस्तक प्रकाशन गरेको लगायतका आरोप लाग्दै आएका छन् ।

 

प्रकाशित: १८ भाद्र २०७४ १४:२७ आइतबार

साझा प्रकाशनका अध्यक्ष शर्मासहित सदस्यद्वारा राजीनामा