समाज

विद्यालय जलाउने दोषी पत्ता लागेन

खोटाङ– भदौ १४ गते राती खोटाङ सदरमुकाम दिक्तेलस्थित सरस्वती माबिको ताला तोडेर ग्याँस चुलो, इनटरनेटको राउटर, शब्दकोस लगायतका सामान चोरी गरिए। विद्यालयको दुई वटा मेन गेटको ताला तोडेर कम्प्यूटर रुम, प्रशासन रुम, स्टाफ रुम र चिया खाजा बनाउने रुमको ताला र दराज तोडेर चोरी गर्नेको व्यक्ती/समूहको अहिलेसम्म अत्तोपत्तो छैन। रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित प्रशासन र जिल्ला प्रहरी कार्यालयको नजिक रहेको सरस्वती माबिमा भएको तोडफोड र चोरीले सुरक्षा व्यवस्था माथि नै प्रश्न उठाएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। ‘उनीहरुको आइडेन्टीफाई हुन बाँकी छ,’ डिएसपी थापाले भने, ‘अहिले पनि उनीहरुको खोजी भइरहेको छ।’

यस्तै, जिल्लामा नमूना सामुयीक विद्यालयको परिचय बनाएको रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबि तीन महिनाअघि नचिनिएका व्यक्ती/समुहले लगाएको आगलागीमा ध्वस्त बन्यो। अंग्रेजी माध्यमबाट बालमैत्री शिक्षण विधि लागू गरेको विद्यालय जेठ १५ गते राती भएको आगलागीमा जलेको थियो । २०६५ सालदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको विद्यालयको पुस्तकालयमा राखिएको ५ वटा र्‍याक, दर्ता गरेर राखिएका ७ हजार थान पुस्तक, ल्यावका सामान, माइक्रोस्कोप, टेलिस्कोप, हार्मोनियम लगायतका सामग्री समेत खरानी भएको व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राई बताउँछन्। आगजनीमा २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त बन्यो।

२०४६ सालमा स्थापना भएको विद्यालयको आगलागीको कारण अझै पनि खुल्न सकेको छैन। आगलागीको प्रकृति हेर्दा मट्टीतेल वा पेट्रोल छर्किएर विद्यालयमा आगो लगाइदिएको जस्तो देखिएको अभिभाबकको भनाई छ । तर हालसम्म आगलागीको कारण र आगजनीमा संलग्न दोषीको पत्तो लागेको छैन । सार्वजनिक सम्पत्ती नष्ट गर्ने दोषी पत्ता नलाग्दा र कारबाही नहुँदा अभिभाबक पीडित छन्।

यस्तै, लामीडाँडा गाउँपालिका–६ हौंचुर चाँपखर्कस्थित पञ्चकन्य आधारभुत विद्यालय पनि अपराधिक मानसिकता बोकेका व्यक्तीको तारोमा पर्‍यो । पञ्चकन्यको हालत पनि ज्योती माबि र सरस्वती माबिको भन्दा फरक छैन । उस्तै छ हालत । ठीक एक वर्ष वित्दा समेत पञ्चकन्य विद्यालयमा आगो लाग्नुको कारण र संलग्न दोषीको पहिचान हुन सकेको छैन । २०७३ साल भदौ २९ गते भएको आगलागीमा विद्यालयको प्रशासन कक्ष ध्वस्त बनेको थियो।

प्रकाशित: १८ भाद्र २०७४ १२:२० आइतबार

विद्यालय जलाउने दोषी पत्ता लागेन