समाज

फेरि गैँडा देखिएपछि टोली भारत प्रस्थान

रत्ननगर (चितवन)—बाढीले बगाएर भारत पुर्‍याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टोली आज बिहानै भारत प्रस्थान गरेको छ।

भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाल भारत सीमाभन्दा पाँच-छ किलोमिटर पर बयस्क गैँडा देखिएको जानकारी दिएपछि आज बिहानै प्राविधिकसहितको टोली भारत हिँडेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

उनका अनुसार निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक तथा प्राविधिज्ञसहितको टोली भारत गएको हो।

यसअघि भदौ १ देखि गैँडाको उद्धारमा खटिएको उक्त टोलीले १० दिनको अन्तरालमा दुई भालेसहित छवटा गैँडाको उद्धार गरेको थियो। तीमध्ये पाँच गैँडालाई चितवन निकुञ्जमा छाडिएको छ भने एउटा सानो रहेकाले संरक्षण गरेर राखिएको छ।

थप गैँडा फेला नपरेपछि आइतबार चितवन फर्किएको टोली आज फेरि गैँडा देखिएको जानकारी आएपछि उद्धारका लागि बिहानै भारत गएको हो। निकुञ्जको पश्चिम सेक्टर अमल्टारीमा रहेको हात्तीसहित वरिष्ठ पशु चिकित्सक डा कमल गैरे तथा निकुञ्जका अधिकारीहरु उद्धारमा खटिएका छन्।

साउन २८ गते आएको बाढीका कारण चितवन निकुञ्जका दुई गैँडा तथा छवटा रतुवा मृग र चित्तल मरेको पाइएको निकुञ्जले जनाएको छ। बाढीका कारण निकुञ्जमा झण्डै रु दुई करोडको भौतिक सम्पत्ति क्षति भएको छ। रासस

प्रकाशित: १३ भाद्र २०७४ ०८:३३ मंगलबार

फेरि गैँडा देखिएपछि टोली भारत प्रस्थान