समाज

भरतपुर-नारायणगढ क्षेत्रमा पनि हर्न बजाउन निषेध

चितवन- चितवनको भरतपुर नारायणगढ क्षेत्रमा पनि आज बिहीबारबाट हर्न बजाउन निषेध हुने भएको छ। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार हर्न बजाएको भेटिए कारबाही हुने छ। सुरुवातमा सम्झाइ बुझाइ गर्दै जाने योजना रहेको पनि प्रहरी निरीक्षक पन्तले बताए।

भरतपुरको केन्द्रीय बस पार्क हुँदै हाकिम चोक, चौबिस कोठी, क्याम्पस चोक, लायन्स चोक, सहिद चोक, पुलचोक, नारायणगढ बस पार्क हुँदै आँपटारी, बाइपास रोड मालपोत चोक हुँदै केन्द्रीय बस टर्मिनल पुग्ने रिङ रोडमा चल्ने गाडीले आजबाट हर्न बजाउन पाउँदैनन्। यो रिङ रोडभित्र पर्ने सडकहरुमा पनि हर्न बजाउन निषेध गरेको पन्तले बताए।

'रिङ रोड क्षेत्रमा मात्रै होइन त्योभित्र पर्ने आवशीय र व्यपारिक क्षेत्रका बाटोहरुमा गुड्ने साना ठुला कुनै पनि गाडीले आजबाट हर्न बजाउन पाउँदैनन्' प्रहरी निरीक्षक पन्तले भने। ठाउँ ठाउँमा प्रहरी बस्ने र हर्न बजाएको पाइए कारबाही हुने उनले बताए। सुरुमा पाँच सय, दोस्रो पटक भए हजार र त्यसपछि १५ सय रुपैयाँ जरिवाना हुने छ।

आजका दिनलाई भने हर्न बजाए पनि गाडीको नम्बर टिपेर सम्झाएर पठाउने पन्तले बताए। हर्न निषेधको जानकारी दिन प्रहरीले प्रचारात्मक अभियान पनि चलाएको थियो। काठमाडौं र पोखरामा यसअघि नै हर्न निषेध भएको छ।

प्रकाशित: १ भाद्र २०७४ ०२:४० बिहीबार

भरतपुर-नारायणगढ क्षेत्रमा हर्न बजाउन निषेध